कोराेनासँगको मेरो लडाइँः ११ दिनपछि प्राप्त गरेको नयाँ जीवन
-जीएस भण्डारी
कोरोना पोजेटिभ भएकाहरुका समाचार पढ्दा र सुन्दासुन्दै, संक्रमितका अनुभवहरु पढ्दा र हेर्दाहेर्दै, संक्रमितको संख्या कति पुग्यो भनेर गन्दागन्दै र जनचेतना फैलाउँदा फैलाउँदै म आफूपनि संक्रमणबाट जोगिन सकिँन।
बैशाख ६ गते बिहान परिवारका एक जना सदस्य बिरामी भएपछि म उहाँको उपचारको क्रममा धनगढीको एक निजी अस्पतालको इमर्जेन्सी कक्षमा पुगेको थिए।
उहाँको सामान्य उपचार गर्ने क्रममा ज्वरो उच्च भएको र कोभिड १९ परीक्षण गरेर पीसीआर रिपोर्ट नेगेटिभ आएपछि मात्र अस्पताल ल्याउनु भन्ने डाक्टरले आदेश दिए। त्यसै बमोजिम त्यहाँबाट केही सामान्य औषधि लिएर म उहाँलाई धनगढीको कोभिड जाँच गर्ने ठाउँ सेती प्रादेशिक अस्पतालको कोभिड १९ स्वाब संकलन केन्द्रमा पुगेँ। त्यसैदिन उहाँको स्वाब दिईयो र उहाँको स्वाब दिँदा म अलि टाढा सामाजिक दुरीको ख्याल गरी नै बसेको थिएँ ।
अर्को दिन बिहान उहाँको फोनमा एसएमएस आयो। जसमा रिपोर्ट नेगेटिभ लेखिएको थियो। र उहाँ थप अन्य उपचारको लागि काठमाडौ निस्किनुभयो। मलाई भने उक्त दिन राति ११ बजेतिर एक्कासी अत्यधिक ज्वरो आयो। जीउ तातो थियो। मेरो मनमा चिसो पस्यो। दिनभरिको अवस्थालाई सम्झिएँ।
तर त्यति सजिलै त त्यहाँबाट नसर्नुपर्ने भन्ने लाग्यो। छेउमा रहेको डिजिटल थर्मोमिटरले ज्वरो नापे र ज्वोरो १०२.५ डिग्री फरेनहाईट मापन भयो। म एक ट्याबलेट प्यारासिटामोल(निको) खाएर त्यो दिन राति सुते। तर निन्द्रा राम्ररी परेन जिउलगायत जोर्निहरु दुखिराखेका थिए।
बिहानसम्म ज्वरो पटक्कै घटेन। मैले केही महत्वपूर्ण कामको लागि काठमाडौ जानुपर्ने भएकोले ८ गते बिहानको लागि काठमाडौंको हवाई टिकेट काटिसकेको थिएँ। तर केही कोभिडका सामान्य अन्य लक्षणहरु देखीन थाले र मैले पनि पीसीआर गराउने निधो गरेँ। पीसीआरको लागि स्वाब दिएँ। अर्कोदिन रिपोर्ट आउन ढिलो गरियो।
फ्लाईट क्यान्सिल गरेँ। रिपोर्ट आउनुभन्दा पहिले नै म आफुलाई कोरोना भएको निक्र्यौल गरेर आइसोलेसनमा बस्न थालिसकेको थिएँ। किन रिपोर्ट ढिलो आयो भनेर मैले धनगढीका एक जना पत्रकार साथी र डाक्टर सापलाई बुझिदिन आग्रह गरेँ।
प्राविधिक कारणले एसएमएस नगएको तर रिपोर्ट पोजेटिभ आएको फोनमार्फत जानकारी पाएँ। लामो समय सतर्क हुँदाहुँदै र स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउँदा अपनाउँदै म पनि आँखिर कोरोना संक्रमित भएँ। मैले तत्कालै आफूलाई आइसोलेट गरेँ। तर १ हप्ता अगाडीदेखि कुनकुन ठाउँ गएँ, के–के गरेँ भनेर नियाल्दा सुरक्षाको नियम पालना नगरेको र सामाजिक दुरीमा ख्याल नगरेको कुनै क्षण त्यस्तो देखिँन।
डक्टरलाई जानकारी गराएँ। आफन्तजन, साथीभाईहरुलाई फेसबुकमार्फत जानकारी गराएँ र हप्तादिनदेखि प्रत्यक्ष सम्पर्कमा आएकालाई पीसीआर गराउन आग्रह गरेँ। कोरोना भनेको अरुलाई भएको सुन्दा गफ हुन्छ र आफुलाई पर्दा रोग हुन्छ भनेको साँच्चै लाग्यो। मैले घरमा साना ठूला सबैलाई केही हुँदैन, मलाई केही भएकै छैन।
रिपोर्ट मात्र त्यस्तो आएको भनेर सम्झाएँ। मलाइ लाग्छ, म मेरो भित्रि तनाव लुकाउन र उनीहरुलाई सम्झाउन सफल भएँ। डाक्टरले भनेबमोजिम केही इम्युनिटी पावर बढाउने र एन्टिबायोटिक लगायतका औषधिहरु लिँदै घरमा छुट्टै कोठामा बसेँ।
जिन्दगीमा गरिएका अनेक अनुभवहरुमध्ये सारै कठिन अनुभव हुँदै थियो, आइसोलेसनमा रहँदा मेरो लागि। तनाव जति भएपनि म फोनमा वा प्रत्यक्ष कसैलाई पनि त्यो तनाव देखाउन चाहन्नथेँ। फोन र म्यासेजले फुर्सदनै थिएन। बोल्न अल्लि गाह्रो हुनथाल्यो अब फोन अफ राखेँ र निरन्तर ईन्टरनेटको माध्यमबाट सम्पर्कमा रहेँ। अझैपनि सबैलाई जवाफ फर्काउन सकेको छैन क्षमा चाहान्छुँ।
फेसबुकका म्यासेज हेर्न र रिप्लाइ गर्न नै हैरान थियो। यो लेख्दै गर्दा म आभारी छु एचएफएच परिवार, कोरोना संक्रमित भई कोरोनालाई जितिसकेका हौसला प्रदान गर्ने साथीहरु, सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्य मनोज राई, धनगढी उप–महानगरपालिकाकी उपमेयर दिदी र सबै जनाप्रति, जसले विभिन्न माध्यमबाट शुभकामना, प्रोत्साहन, शुभेच्छा, चिन्ताचासो र माया प्रकट गर्नुभयो। एक्लो र कमजोर महसुस हुन दिनु भएन यसरी नै सबैलाई साथ र सहयोग गर्नुहोला। यसो गर्दा कसैले एक्लो महसुस गर्न पाउने छैनन् र सजिलै कोरोना जित्ने छन्, थप हिम्मत आउने छ। सबैलाई फेरि पनि हार्दिक धन्यवाद।
सुभ चिन्तकले देखाएको माया देखेर मैले दिनदिनै मनोबल झन उच्च बनाएँ। घरमा बस्दा छुट्टै बाथरुम प्रयोग गरेँ। मलाई मेरो कारणले घरपरिवार र समाजमा संक्रमण नफैलियोस् भन्ने चिन्ता थियो। एक सचेत नागरिक भएकोले अरु कसैमा संक्रमण मबाट नसरोस् भन्नेमा सचेत थिएँ र आजका दिनसम्म सरेन पनि।
दोस्रो दिनसम्म पनि ज्वरो पटक्कै रोकिएन। खाना कत्तिपनि रुच्नै छाड्यो। दालको सुप, पानी तथा अन्य झोलिलो पदार्थबाहेक ठोस पदार्थ पेटमा पुर्याउन निकै सकस भयो। तर खाँदै नखाए रोगसंग लड्ने शक्ति कसरी जुटाउने? मनले आफै बिचार गर्यो। मिठो नमानी नमानी खान्थेँ खाना। ज्वरो बसाल्न दिनको चार पटकसम्म सिटामोल खाँदापनि भएन(सिटामोल ३ पटक भन्दा बढी १ दिनमा सेवन गर्नु हुँदैन) सुपकै भरमा बसियो।
दिनको ३/४ पटक तापक्रम जाँच गर्थेँ तर व्यथा केही कम भएन। दिनभर उठ्ने जाँगर थिएन। राति निन्द्रा लाग्थेन। तरपनि बिस्तराको बिस्तरामै भएँ। अलिकति बोलेपनि, हिँडेपनि स्याँस्याँ हुन्थ्यो, खोकी बढिहाल्थ्यो। तर अक्सिजन लेबल घट्न दिएन डाक्टरको सल्लाह बमोजिमका सबै कार्यहरु गरेँ।
डाक्टरहरुले भने बमोजिमका केहि औषधिका साथै आयुर्वेदिक औषधिहरु (जडिबुटीहरु) पनि नियमित रुपमा ३ पटकसम्म खाइरहेँ। कोरोनाको विषयमा दैनिक त्रसित हुने विभिन्न समाचारहरु देख्न÷सुन्न मिलिरहेको थियो। पछिल्लो दिनहरुमा युवाहरु बढी यसबाट ज्यान गुमाईरहेका थिए। आफूलाई अत्याधिक दुःख लागेपनि मैले आफूलाई नकारात्मकतातर्फ लिने सोच नै बनाएन। सकारात्मक हुने प्रयास गरेँ।
मानव शरीरमा भाईरस संक्रमण हुँदा व्यक्तिअनुसार फरक–फरक लक्षण देखिन्छ। मैले म जस्तै कोरोना संक्रमण भएर होम क्वारेन्टिइनमा बस्ने अरु बिरामीसँग सोध्दा फरक–फरक लक्षण भएको पाएको छु।
यो भाईरसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता भएका सामान्य स्वास्थ्य भएकालाई खासै समस्या बनाउँदैन। जसको शरीर कमजोर छ, पहिला निमोनिया, मुटु, प्रेसर, सुगर, दम र मृगौलाको समस्या भएकालाई यसले बढी समस्या बनाउन सक्छ । त्यसैले यो भाईरसबाट विजय प्राप्त गर्नका लागि आवश्यक पर्ने प्रोटिनयुक्त खाने कुराहरुमा बढी जोड दिनुपर्छ भन्ने सुझाव अरुलाई पनि दिन्थेँ आफू पनि अनुसरण गर्थें।
अब तेस्रो दिन सुरु भईसकेको थियो आफूलाई वातावरण अनुकुल बनाउने प्रयासमा लागेँ। आत्मविश्वाश र स्वास्थ्य सबल बनाउन लागेँ। अँझ भनौं सानो संसारमा आफूले आफूलाई बन्दी बनाउन सुरु गरेँ। मनमा अनेक खालका कुरा खेल्ने, एउटा कुरा सोच्छु अर्कोमा डाइबर्ट हुने। कहिलेकाहीँ त सम्हाल्न समेत गाह्रो हुने अवस्था आयो। मन जति दह्रो बनाउछुँ क्षणभरमै उति नै कमजोर हुन्थ्यो।
विहान कुनैकुनै दिन सक्नेजति (४०/५० मिनेट) योगापनि गरिन्थ्यो, कहिलेकाहीँ ६ बजे उठिन्थ्यो त कहिले ७ बजे नै उठ्थेँ। श्रीमद् भागवतकथा सुन्ने र हेर्ने गर्थें। भजन किर्तन आउँदा मुड चले ठुलो साउन्डमा बजाएर नाच्न पनि थाल्थेँ। रातिको समयमा कमेडी मुभी हेर्ने, आईपीएल हेर्ने गर्थेँ जतिसक्यो आफुलाई व्यस्त र खुसी बनाउने प्रयास गर्थें।
खानाखाने रुटिङ (कति बजे के–के दिने/खाने लगायत सबै उल्लेख भएको) बनाएर घरका सदस्यलाई म्यासेन्जमार्फत पठाए र त्यही रुटिङ अनुसार चल्न सुरु गरेँ। एक्लो हुँदा त नखानेभन्दा खाने समस्याले मान्छेलाई रोगी बनाउने रहेछ। तर म सोसल मिडियामा एक्टिभ रहन्थे स्टेटस लगायत पोस्ट गर्थेँ र आफ्नो अवस्था पनि सामान्य रहेको जानकारी गराई रहन्थेँ। आफन्त साथीभाईहरुसङ्ग च्याटमा पनि एक्टिभ रहन्थेँ।
कसैलाई अस्पतालमा इमर्जेन्सी ब्लडको आवश्यक परेको खबर, कसैलाई एम्बुलेन्स लगायतको आवश्यक र अप्ठ्यारो परेको खबर थाहा पाएपछि जोहो गर्ने व्यवस्था मिलाउने कार्यलाई पनि निरन्तरनै दिरहेको थिएँ भने म सँग सम्पर्कमा आएका कोभिड पोजिटिभ बिरामीहरुको स्वस्थ्य अवस्था पनि समय समयमा बुझि रहन्थेँ। खाना र खाजामा नियमितता नै थियो। तर पनि मजा र स्वादिलो नलाग्ने जिब्रोले स्वाद र नाकले गन्ध थाहा पाउन छोडिसकेको थियो तर जबर्जस्ती भएनि खाना खान्थेँ।
७ दिनपछि बल्ल ज्वरो बस्न थाल्यो अनि सिटामोल लगायतका औषधि बिस्तारै कमगर्दै लगेँ। खाना रुच्न थाल्यो। पटक पटक खाना खान थालेपछि अब त ठिक हुन्छ भन्ने लाग्यो दिनबित्दै गए। अब ११ दिनमा फेरि पीसीआर टेस्ट गराए रिपोर्ट आयो नेगेटिभ। रिपोर्ट हेर्दा दुःखले उडेको अनुहारको चमक फेरिएको अनुभूति भयो। कोरोनालाई जितेर नयाँ जीवन पाएकोमा मन प्रफुल्लित भयो। तर अवस्था अझैँ सामान्य भइसकेको छैन केयर गर्ने कुराहरुलाई निरन्तर दिएको छुँ।
कोरोना जित्न सजिलो छैन र जित्न नसक्ने रोग पनि होइन। प्रेम, प्रेरणा, उच्च आत्मविश्वास र केही उपचार पद्धतिको मद्दतले छिट्टै निको पनि हुन सकिन्छ। आफ्नो आत्मविश्वाश, सरसफाई र खानपान नै यो सँग लड्ने मुख्य उपाय हो भन्ने मेरो सिकाइ रहेको छ। भेट हुने, फोन सम्पर्क हुने र कोभिड पोजेटिभ भई लडिरहेकाहरुसङ्ग पनि दैनिक सम्पर्कमा रही सबैलाई मेरो यही अनुभव सुनाइरहेको छुँ।
व्यायाम गरौँ, खानपान, सरसफाई मा विशेष ख्याल गरौं, आत्मविश्वाश दरिलो बनाई राखौं। कोरोना केही होइन भन्नेको पछि पनि नलागौं र कोरोनाले मरिहाल्छन् भन्नेको पछिपनि नलागौं। कोरोना “केही त पक्कै हो तर सम्पूर्ण रुपमा संहारक चाहीँ होइन” भनेर सबैलाई सल्लाह दिन्छु। अहिले सबैतिर कोरोना यति बढ्यो उति बढ्यो, यतिको मृत्यु भन्ने मात्रै समाचार आउने गरेकाले पनिमानिसहरुमा निराशा पैदा भएको छ। अब यस्तो मात्रै नभएर निको भएर फर्किएकाको कुरालाई पनि सबै सामु पुर्याउन जरुरी रहेको छ, नेगेटिभभन्दा पोजेटिभ कुराहरुलाई बढी जोड दिनुपर्ने देखिन्छ।
कोरोना एक हिसाबले जेल नै रहेछ। आफूलाई कोरोना छैन भनेर ढुक्क भएर बस्न, वेवास्ता गर्न तथा लापरवाह हुनु ठीक हुन्न। अहिले संक्रमण नदेखिएकालाई पनि जुनसुकै बेला संक्रमण हुनसक्छ। पढ्दा र सुन्दाभन्दा भोग्दा बेग्लै अनुभूतिहुने रहेछ। यसमा हेलचेक्य्राइँ नगर्न पनि सबैमा अनुरोध गर्दछुँ। कोरोना नलाग्दापनि म निकै सजग थिएँ। अहिले लागेर निको भएर पनि सजक छुँ। यो समस्यालाई गम्भीरतापूर्वक लिनहुन सबैमा मेरो अनुरोध छ।
मैले सबैको माया, हौसला र साथ पाएर दोस्रो र तेस्रो टेस्ट पनि नेगेटिभ आएपछि कोरोनालाई जितेको छुँ। मैले प्रायोग गरेका सामाग्रीलगायत पूरै कोठालाई सेनिटाइज गरेको छु र योसँगै आफ्नो नियमित कार्यहरुमा केही दिनमा फर्किने छुँ।
सबैभन्दा महत्वपूर्ण कुरा कोरोना मात्र होइन, जुनै रोगको लागि पनि आत्मबल नै सबैभन्दा पहिलो औषधि हो। त्यसैले कोरोना संक्रमित भइहालियो भनेपनि नआत्तिऔं, सधैँ आत्मबल उच्च राख्ने गरौँ। कोरोनाका कारण बिरामी हुनुभएका सम्पूर्णमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछुँ।
राज्यले, तपाईँ हामी जानकारकहरुले पनि कोरोनाको विषयमा जनचेतनामुलक कार्यक्रमहरु बढी गर्नुपर्ने देखिन्छ। बुढापाका, बच्चा र केही युवाहरुलाई पनि कोरोना र सतर्क रहन बुझाउन गाह्रो छ, बुझाउन सकिएको छैन।
कतिपय मानिस आइसोलेसनमा नबस्ने, लग्दै गर्दा भाग्ने मास्क लगाउन नमान्ने गरेको समाचार बाहिर आएका छन्। त्यस्तो व्यक्तिलाई राज्यको तर्फबाट चेतनाप्रदान गर्न तथा आवश्यक परेमा कडाइ गर्न र संक्रमित भई अस्पतालहरुको बेडमा उपचाररत बिरामीहरुको हेरचाहमा राज्यले विशेष ध्यान पुर्याउनुपर्ने आवश्यक देखिन्छ।
(कोराना सङ्क्रमित भएर निको भएका लेखक भण्डारी, हेल्प फर हेप्पिनेस सुदुरपश्चिम प्रदेशका संयोजक हुन्।)