सुदूर नेपाललाई विश्वसँग जोड्दै

पैसा उठाएर पनि गौ संरक्षणमा लापर्बाही गरेको भन्दै धनगढीका स्थानीय आक्रोशित

२०७८ वैशाख ९, ०५:४३ खबर संवाददाता

धनगढी: गौ संरक्षणमा चरम लापरवाही भएको भन्दै धनगढीका स्थानीय आक्रोशित भएका छन्। 

छाडा पशु चौपायाका लागि निर्माण गरिएको गौशालाले उद्देश्य अनुरुप काम नगरेको भन्दै स्थानीय आक्रोशित भएका हुन्। धनगढी उपमहानगरपालिका ३ चटकपुरस्थित गौशालाले छाडा पशु चौपायाको व्यवस्थापनमा चरम लापरबाही गरेको आरोप त्यहाँका स्थानीयहरुले लगाएका छन्। 

गौ संरक्षण समितिले कुनै किसिमको चाँसो नदेखाउँदा गाईवस्तु सडकमा तड्पिएर मरिरहेकाे र कतिपय गाईवस्तुमाथि अमानवीय व्यवहार गरिँदा समेत संरक्षण समिति मौन बसेको चटकपुरका स्थानीय इश्वर बहादुर चन्दले बताए। 

करोडौँको लगानीमा निर्माण गरिएको सो गौशालामा सडकका पशुचौपाया राखी व्यवस्थापन गर्नुपर्नेमा व्यक्ति व्यक्तिका घरबाट ६ हजार रुपैयाँका दरले गाईवस्तु ल्याएर पैसा कमाउने काम भइरहेको चन्दको आरोप छ। ‘यदी सडकका गाईवस्तु ल्याएर गौशाला र संरक्षण समितिले व्यवस्थापन नगर्ने हो भने हामीहरु स्वस्फूर्त रुपमा यही वैशाख १२ गते सडकका गाईवस्तु ल्याएर गौशालामा पुर्याउने छौं’ चन्दले चेतावनी दिँदै भने। 

उता समितिका अध्यक्ष भोजराज पाठकले गौशाला निर्माण गरिएको भएपनि चरन क्षेत्र नहुँदा छाडा पशुचौपायाको व्यवस्थापन गर्न नसकिरहेको बताए। ‘गौशालाको उद्देश्य नै गाई पाल्ने हो तर त्यसबारे उपमहानगरपालिकाले कुनै ठोस निर्णय गर्न नसक्दा समस्या भइरहेको छ’ उनले भने। 

उपमहानगरपालिकालाई गाईको चरन क्षेत्र, घाँस, भुसा, पराल, गोठाला लगायतको समस्याबारे पटकपटक अवगत गराउँदा पनि कुनै पहल नै नगरेको अध्यक्ष पाठकले गुनासो गरे। ‘गौशालामा ल्याएका गाईवस्तुलाई कसरी पाल्ने भन्ने नै समस्या रहेको छ’ उनले भने। सडकका गाईवस्तुको व्यवस्थापन गर्न नसकिएको उनको भनाई छ।

पैसा लिएर मानिसका गोठबाट गाईहरु गौशालामा राखिएको विषयमा उनले ‘गाई राखिदिनुपर्यो, बरु हामी पैसा तिर्छौ’ भनेर अनुरोध गरिएपछि आहारा खर्चवापत वार्षिक ६ हजार रुपैयाँ लिएको बताए।  

‘अहिले ती गाईहरु गौशालामा नराखिए भोलि उनीहरुले नै सडकमा छोड्ने हुँदा पैसा लिएर गौशालामा राखेका हौं’ पाठकले भने। उनका अनुसार गौशालामा अहिले ५० गाईवस्तु राखिएका छन्। विभिन्न दानदाताहरुको सहयोगबाट गौशाला चलिरहेको उनले बताए। 

यही वैशाख ७ गते कैलालीको मोहनापुल–अत्तरिया ६ लेन सडकमा एउटा गाई घाँटी छिनालिएको अवस्थामा फेला परेको थियो। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले भने घाँटी रेटिएको नभई उक्त गाईलाई सवारी साधनले ठक्कर दिएको हुनसक्ने बताएको थियो। 


 

कमेन्ट लोड गर्नुस