सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा मापसे गरेका युवा 'पत्रकार'ले कुटेका घाइते फेरि उनैबाट 'ठगिएको' खुलासा !

२०७७ चैत्र १९, ०३:४२ खबर संवाददाता

धनगढी: दार्चुलामा पत्रकार भनिएका दुई युवकबाट कुटिएका घाइते फेरि उनैबाट ठगिएको खुलेको छ। 

आइतबार होली पर्वको दिन शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वमा ती पत्रकारहरूले सुनचाँदी व्यवसायी महेश निरौला र अस्थायी प्रहरी पोस्ट गोकुलेश्वरका प्रहरी जवान देवराम महरमाथि हातपात गरेको खबर प्राप्त भएको थियो। 

इलाका प्रहरीले कार्यालय गोकुलेश्वरले उक्त दिन स्थानीय पत्रकार भनिएका भुपेन्द्र धामी र अमर खत्रीले सुनचाँदी व्यवसायी निरौलालाई कुटपिट गरी घाइते अवस्थामा छोडेको र निरौलाले आफूमाथि कुटपिट भएको बताउदै प्रहरीसमक्ष उजुरी गरेपछि पत्रकारहरुलाई नियन्त्रणमा लिन खोज्दा उनीहरुले प्रहरी जवान महरमाथि समेत कुटपिट गरेको बताएको थियो। 

कुटपिटबाट व्यवसायी निरौलाको टाउको तथा शरीरभरी, त्यस्तै प्रहरी जवानको हत्केलामा चोट लागेको गोकुलेश्वर अस्पतालका डाक्टर नयज अन्सारीले बताएका थिए। 

त्यसपछि कुटपिटमा संलग्न पत्रकार भुपेन्द्र धामी र अमर खत्रीले मादक पदार्थ सेवन गरेको अस्पतालको स्वास्थ्य परीक्षण रिपोर्टबाट खुलेको थियो।

घटनापछि महेश निरौलाकी श्रीमती मीना निरौलाले प्रहरीमा उजुरी दिएकी थिइन्। 

उजुरीपछि ती दुवै पत्रकारलाई नियन्त्रणमा लिएर पछि घाइते निरौलाको उपचार गरिदिने सर्तमा रिहा गरेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी नायव निरीक्षक धनबहादुर नाथले बताए। 

घाइते निरौलाको टाउको र करङमा चोटपटक लागेको देखिएको तर अस्पतालमा आवश्यक स्रोतसाधन नहुँदा डा. अन्सारीले निरौलाका आफन्तलाई स्रोत साधन भएको अस्पतालमा गएर उपचार गराउन सुझाव दिएका थिए। 

त्यसपछि निरौलालाई पीडक पक्षले उपचारका लागि धनगढी ल्याएको बताइएको छ।

तर सर्त अनुसार उनीहरुले बिरामीको उपचार नगरिदिएको घाइते महेश निरौलाकी श्रीमती मीना निरौलाले बताइन।

‘यहाँका डाक्टर अन्सारीको सल्लाह अनुसार उपचार गराउन भनी धनगढीको निसर्ग अस्पताल लगियो तर त्यहाँका चिकित्सकको आग्रह अनुसार श्रीमानको सीटी स्क्यान गरिएन’ उनले दिनेशखबरसँग भनिन्, ‘हामीलाई ती पत्रकारहरुले सीटी स्क्यान गराएपछि टाउकोको समस्या हुन्छ भन्दै डराएदिए। त्यसैले हामी पूरै उपचार नै नगरी धनगढीबाट दार्चुला घर फर्कियौं।’

पीडितकी श्रीमती मीनाका अनुसार घर फर्किएका उनका श्रीमानको अवस्था झन् बिग्रिँदो छ। ‘हिजो(बुधबार)बाट उहाँले खाना खान सक्नुभएको छैन। सास फेर्न समेत समस्या भएको छ। दुखाइ झनै बढेको छ’ उनले भनिन्। 

मापसे जाँचको रकम पनि नतिरेको खुलासा
आइतबार कुटपिटपछि नियन्त्रणमा लिइएका दुवै पत्रकार भुपेन्द्र धामी र अमर खत्रीले गोकुलेश्वर अस्पतालमा मादक पदार्थ जाँच गरेको रकम पनि नतिरेको खुलेको छ।

आइतबार गरिएको मापसे शुल्कवापतका प्रति व्यक्ति ५ सय ५० का दरले जम्मा ११ सय रकम तिर्न बाँकी रहेको गोकुलेश्वर अस्पतालले जनाएको छ। 

आरोपित पत्रकार भन्छन् ‘व्यापारीले हामीलाई कुटेको हो’
उता पत्रकार भनिएका आरोपित युवा भुपेन्द्र धामीले भने प्रहरीले जानकारी दिएअनुसार घटनामा कुनै सत्यता नभएको दाबी गरेका छन्।  उक्त दिन सुनचाँदी व्यवसायी महेश निरौलाले सुरुमा आफ्नो मोटरसाइकलको तार काटिदिएकाले आफूहरुले उनलाई समातेको र प्रहरीलाई खबर गरेको धामीले बताए।

‘सुरुमा निरौला मेरो बाइकको तार चुँडालिदिएर भागे। अनि हामीले समातेर प्रहरीलाई खबर गरेका थियौं,’ उनले भने - ‘निरौला र प्रहरी जवान देवराम महरमाथि कसरी चोटपटक लाग्यो हामीलाई थाहै भएन। उल्टै व्यवसायी निरौलाले हामीलाई हातपात गरेका हुन्।’

उपचार नगराएको विषयमा सोध्दा उनले घाइतेको सन्तुष्टिका लागि फेरि उपचार गराउन धनगढी पठाउन लागेको प्रतिक्रिया दिएका छन्।

सम्बन्धित समाचार :
दार्चुलामा मापसे गरेका पत्रकारले गति छाडेपछि...

कमेन्ट लोड गर्नुस