सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न स्वास्थ्य संयन्त्र योजनाविहीन

२०७७ चैत्र १५, १०:०४ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिममा कोरोना भाइरसको दोस्रो लहर फैलिन सुरु भएपनि प्रदेशस्थित ७ ओटा प्रयोगशालामा स्वाबको नमुना अभाव रहेको पाइएको छ। 

कोरोना विरुद्ध लड्न सुदूरपश्चिम प्रदेशका स्वास्थ्य संयन्त्र तथा स्थानीय तहहरुले अझैसम्म कामको थालनी गर्न नसकेको पाइएको छ। स्थानीय तहले संक्रमण फैलिन नदिन नमुना संकलन, कन्ट्याक्ट ट्रेसिङ गर्नतर्फ तदारुकता देखाउन नसकेका हुन्। 

प्रदेशका स्वास्थ्य निकाय अझैसम्म योजनाविहीन देखिएका छन्। यहाँको प्रयोगशालामध्ये सेती प्रादेशिक अस्पतालमा मात्रै परीक्षण जारी छ। अन्य प्रयोगशालाको काम ठप्प रहेको छ।

सेती अस्पताल प्रयोगशालामा दैनिक ५ सय नमुना परीक्षण गर्न सकिने भएपनि अहिले दैनिक बढीमा २५ नमुना मात्रै परीक्षण हुने गरेको प्रयोगशाला प्रमुख रमेश शाही बताउँछन्।

प्रदेशको सबैभन्दा बढी जनसंख्या भएको धनगढी उपमहानगरपालिकामा अहिले पनि सक्रिय संक्रमित रहेका छन्। तर उपमहानगरपालिकाले भने कोरोनासँग लड्न अझै ठोस योजना बनाउन नसकेको पाइएको छ। 

“नमुना संकलन, संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको पहिचान गरि कोरोना नियन्त्रणको योजना बनाउन प्रदेश र संघीय सरकारका निकायसँग छलफल भइरहेकको छ” धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डक्टर खगेन्द्र बहादुर बमले भने।

सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा रहेकका दुई प्रमुख नाका गौरीफन्टा र गड्डाचौकीबाट सबैभन्दा बढी मानिसहरुको आवागमन हुन्छ। 

तर जनशक्ति अभावले सीमा नाकामा सबैको स्वास्थ्य परीक्षण गर्न नसकिएको गुनासो बढेको छ।

तर स्वास्थ्य कार्यालय कञ्चनपुरले भने सीमामा सबैको स्वास्थ्य परीक्षण भइरहेको दाबी गरेको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले भने, “सीमा नाकामा स्वस्थ्य परीक्षण गरेर मात्रै आउन दिने व्यवस्था मिलाइएको छ। तर जति प्रभावकारी रुपमा जाँच हुनुपर्ने हो त्यो भने गर्न सकिएको छैन। एन्टिजेन परीक्षण गरिरहेका छौँ। सो परीक्षणमा पोजेटिभ देखिए। लक्षणका आधारमा अस्पताल या आइसोलेशनमा जे उपयुक्त हुन्छ, त्यही पठाउने व्यवस्था मिलाइएको छ।”  

सुदूरपश्चिममा सेती प्रादेशिक अस्पतालसहित बैतडी, अछाम, डोटी, बझाङ, डडेल्धुरा र कञ्चनपुर गरि सबै प्रयोगशालाको दैनिक परीक्षण क्षमता ३ हजार ५ सय रहेको छ। तर नमुना अभावले सेतीमा मात्रै दैनिक २५ नमुना परीक्षण हुने गरेको हो।


 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस