सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्लास्टिक जलाउने क्रम बढेपछि वायु प्रदूषण भयावह

२०७७ चैत्र १३, ०६:३२ नारायण अवस्थी

धनगढीः आजभोलि धनगढीमा विहान मर्निङ वाकमा हिड्दा तपाईले फरक गन्धको अनुभव गर्नु भएको छ? धनगढीमा जो कसैले पनि प्लास्टिक जलेर निस्किएको धुँवाको दुर्गन्ध सुँघ्न सक्छन्। धनगढीमा प्लास्टिकजन्य फोहर व्यवस्थापनको उचित प्रबन्ध नहुँदा घर, पसल, तथा अन्य ठाउँबाट निस्कने प्लास्टिकलाई जलाउने गरिन्छ।

यसरी प्लास्टिकजन्य फोहर जलाउँदा निस्किने धुँवा निकै विषाक्त र घातक हुने चिकित्सकहरु बताउँछन्। प्लास्टिक जलाउँदा,फोक्सोको संक्रमण हुनुको साथै प्राण घातक रोग क्यान्सर हुनेसेती प्रादेशिक अस्पतालका बरिष्ठ फिजिसियन डक्टर शेरबहादुर कमर बताउँछन्।

धनगढी उपमहानगरमा जताततै प्लास्टिक जल्ने क्रम बढेपछि वायु प्रदूषण भयावह हुदै गइरहेको बताइएको छ। नगरमा रहेको वायु प्रदूषण मापन गर्ने एकमात्र उपकरण समेत बिग्रिएपछि प्रदूषण मापन देखाउने कार्य समेत रोकिएको छ। 

प्लास्टिक जन्य पदार्थ जलाउदा हुने वायु प्रदूषण रोक्न सरकारी निकाय तथा समुदाय पूरै विफल देखिएको छ। धनगढी उप–महानगरपालिका र प्रदेश सरकारसँग समेत प्लास्टिकजन्य फोहर व्यवस्थापनको ठोस योजना नहुदा रोग व्याधिको जोखिम उच्च रहने देखिएको छ। 

प्रदेशको अस्थायी राजधानी समेत रहेको धगढनीमा बढ्दो क्रममा रहेको वायु प्रदूषण नियन्त्रण गर्न प्रदेश सरकारसँग समेत ठोस योजना र कार्यक्रम नरहेको पाइएको छ। 

प्रदेशमा वन तथा वातावरण मन्त्रालय भएपनि सो मन्त्रालय मातहत रहने गरी जिल्ला र स्थानीय तहमा कुनै पनि इकाइ समेत नहुँदा वातावरणको क्षेत्रमा काम गर्न ठोस योजना ल्याउन नसकिएको प्रदेशको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता भरतप्रसाद श्रेष्ठ बताउँछन्।

नेपालमा वातावरणको क्षेत्र हेर्न कानुन, नीति र मापदण्ड बनाउन सरकारले सन्तोषजनक काम गरेको भएपनि तिनको सफल कार्यान्वयन भने हुन नसकेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका वातावरण विज्ञानका उप–प्राध्यापक  तर्कराज जोशीले बताए।

धनगढी उपमहानगरपालिकामा वायु गुणस्तर इन्डेक्स १ सय ३४ रहेको छ। जसलाई वायुको अस्वस्थकर अवस्था भनेर परिभाषित गरिएको छ। 

तर धनगढी उपमहानगरपालिकाले भने नगरको फोहरमैलाको उचित व्यवस्थापन गर्न अझै समय लाग्ने बताएको छ। फोहरमैला व्यवस्थापन गर्न जग्गाको टुङ्गो नलाग्दासम्म अहिलेकै अवस्था रहने नगर प्रवक्ता सन्तोष मुडभरीले बताए।

धनगढी उपमहानगर क्षेत्रमा दैनिक सयौँ क्वीन्टल प्लास्टिकजन्य फोहर उत्सर्जन हुने गर्दछ। तर त्यसको पुनःप्रयोग वा व्यवस्थापन शून्य छ।

प्लास्टिकजन्य फोहर जलाउँदा कार्वनडाइअक्साइड, कार्वन मोनोअक्साइड तथा क्यान्सर गराउने कार्सियोजेनिक कण समेत हावामा मिसिने हुँदा श्वासप्रस्वासको समस्या, दम, फोक्सोको क्यान्सर, छालाको रोग तथा आँखा सम्बन्धि समस्या हुने बताइएको छ। 

तर नगरमा प्लास्टिकको विसर्जन र व्यवस्थापन गर्ने ठोस योजना भने कहिले बन्छ त्यो स्वयं धनगढी उपमानगरपालिकालाई समेत थाहा छैन।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस