धनगढीको झगडा ताल अब रहेन, पूरै वस्तीमा परिणत
धनगढीः के तपाईलाई थाहा छ, धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको शिवनगरमा रहेको केदार टोल तालमाथि बसाइएको हो भनेर ?
स्थानीयवासीका अनुसार झगडा तालमा ३० वर्षअघि पानी हुने गर्दथ्यो। तर तालको पानी सुक्दै गएपछि त्यहाँ वस्ती बसेको छ। जसको नाम अहिले केदार टोल रहन गएको छ। जहाँ हाल सय भन्दा बढी परिवारले घर निर्माण गरिसकेका छन्।
झगडा तालमा अझै नयाँ–नयाँ घर बन्ने क्रम जारी छ। तर केदारटोलवासीको आफ्नै पीडा छ। उनीहरूसँग अझै जग्गा धनी लालपुर्जा छैन। वस्ती विकास हुनुभन्दा पहिले ताल रहेको कारण आफूहरुले लालपुर्जा नपाएको बताउँछन् २०५४ सालमा झगडा तालमा घर बनाएका छुकनलाल चौधरी।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ शिवनगरमा रहेको केदार टोलको झण्डै १२ बिघा क्षेत्रमा फैलिएको झगडा तालमा वस्ती विकास भएपछि तालको अस्तित्व नै मेटिन पुगेको छ।
विगत ३० वर्षदेखि वस्ती विकास हुन थालेर झगडा ताल इतिहास बनेको हो। नगर विकास समितिले नै ताल क्षेत्रमा नगर विकास गरेपछि तालको अस्तित्व समाप्त हुन पुगेको हो। तर झगडा तालवासी अझै पनि लालपुर्जाबिहीन छन्। तैपनि झगडा ताल क्षेत्रमा नयाँ घर बन्ने र ऐलानी जग्गाको कारोबार निरन्तर छ। विगत लामो समयदेखि लालपुर्जाको माग गरिएको भएपनि आफूहरुले नपाएको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार वर्षायाममा पानी जम्ने भएपनि हिउँदमा भने सुख्खा हुने झगडा ताल पहिले त्रिनगर गाउँ पञ्चायत अन्तर्गतको कित्ता नम्बर ७ ऐलानी पर्ति जग्गाको रूपमा दर्ता थियो।
तालको नाम झगडा रहनुको पछाडिको कारण पनि रोचक रहेछ। पहिले–पहिले बंगाली सुंगुर व्यापारीहरू आएर झगडा गरेर बस्ने गरेकोले त्यो क्षेत्रको नाम त्यस्तो रहन गएको स्थानीयवासी कन्हैँया चौधरी बताउँछन्।
ताल भएर के भो ? झगडा तालमा पानी नभएकोले वस्ती विकास सहजै चल्दै छ। साथ–साथै झगडा तालको ऐलानी जग्गामा वर्षौदेखि घर निर्माण र जग्गाको कारोबार पनि जारी नै छ। तर लालपुर्जा नपाएर स्थानीयवासी पीरोलिएका छन्।
धनगढी शिवनगरको झगडा ताल अस्तित्व मेटिएको पहिलो ताल होइन। धनगढीमा १० भन्दा बढी ताल मानवीय अतिक्रमणको चपेटामा परिसकेका छन्। केही तालमा केदार टोलमा जस्तै नयाँ वस्ती बसाइएका छन् भने केही तीव्र गतिमा त्यही हविगत हुने बाटोमा गइरहेका छन्।