सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सवारीको ‘ट्रायल’ दिँदा राजश्व बाहेक थप १ हजार तिर्नुपरेपछि...

२०७७ चैत्र ८, ११:२२ नारायण अवस्थी

धनगढी: यातायात व्यवस्था कार्यालय धनगढीले ‘ड्राइभिङ सेन्टर’हरुले उपलब्ध गराएको सवारीमा मात्र प्रयोगात्मक परीक्षा(ट्रायल) दिन पाउने नियम बनाएको परीक्षार्थीहरुले गुनासो गरेका छन्।  

कार्यालयले हरेक व्यक्तिबाट थप १ हजार उठाउने नियतले परीक्षामा निजी गाडीलाई निषेध गर्ने गरेको भन्दै परीक्षार्थीहरुले गुनासो पोखेको हुन।  

प्रयोगात्मक परीक्षा दिन थप १ हजार रुपैयाँ बुझाउनु पर्ने बाध्यकारी नियम लागु गरिएपछि आक्रोशित परीक्षार्थीहरुले यातायात व्यवस्था कार्यालय धनगढी, ट्राफिक प्रहरी र ड्राइभिङ सेन्टरबीचको आपसी सहमतिमा नै खुल्लम खुल्ला रकम असुली धन्दा चलाएको आरोप लगाएका छन्। 

शनिबार धनगढीको यातायात कार्यालयले फाप्लामा रहेको प्रयोगात्मक परीक्षा सेन्टरमा मिनी बस चालक अनुमति पत्र (लाइसेन्स) दिने प्रयोगात्मक परीक्षा हुँदै थियो। सो परीक्षा दिन १ सयको हाराहारीमा परीक्षार्थीहरु परीक्षा सेन्टरको बाहिर जम्मा भएका थिए।

मिनीबस चालक अनुमति पत्रको लागि केहीले आफ्नै गाडी लिएर गएको र केहीले साथीको गाडीले परीक्षा दिने योजना बनाएको सुनाउँदै थिए। तर उपस्थित भएकाहरुले गाडीले प्रयोगात्मक परीक्षा दिन पाएनन्।

केही परीक्षार्थीले आफ्नो हाइसले समेत ट्रायल दिन नपाएको गुनासो पोख्दै थिए। ‘ट्रायल सेन्टरमा रहेका अधिकारीहरुले पैसा उठाउने नियतले आफूहरुलाई साथीको गाडीबाट प्रयोगात्मक परीक्षा दिन नदिएको सरोज उपाध्यायले बताए।

त्यहाँ केही सेवाग्राहीले आफ्नो हाइसले समेत परीक्षा दिन नपाएको भनिरहेका बेला भने केहीले  १ हजार थप शुल्क बुझाएर परीक्षा दिइरहेको देखिन्थ्यो। 

फाप्ला ट्रायल सेन्टरमै मिनी बस चालक अनुमति पत्रको लागि परीक्षा दिन पुगेका अरुण बोहरा भेटिए। उनले आफूले साथीको गाडी मागेर परीक्षा दिन खोज्दा आफूलाई रोकेको गुनासो सुनाए। ‘ड्राइभिङ सेन्टर, यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीको मिलेमतोमा रकम असुल्ने नियतले निजी गाडीलाई रोक लगाइएको छ’ बोहराले भन्दैथिए ‘यातायात व्यवस्था कार्यालयमा फारम भर्ने बेला नै प्रयोगात्मक परीक्षका लागि ५ सय राजश्व तिरेका भएपनि हरेकबाट पुनः एक हजार रुपैयाँ असुल्नु गलत हो।’

फाप्ला ट्रायल सेन्टरमै यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख लक्ष्मण शाह उपस्थित थिए। उनले सबैले गाडी ल्याउँदा भिडभाड हुने भएकाले परीक्षाको लागि ड्राइभिङ सेन्टरको गाडीको व्यवस्था गरिएको बताए।  तर सोको शुल्क आफूहरुले निर्धारण नगरेको र नलिने उनको भनाई थियो। 

प्रमुख शाहले विगतदेखि नै ड्राइभिङ सेन्टरको गाडीबाटै चालक अनुमति पत्रकोे परीक्षा लिने गरेको दाबी गरे।

सेवाग्राहीहरुले बताएअनुसार यातायात कार्यालय धनगढीमा झण्डै डेढ सयले मिनी बसको चालक अनुमति पत्रका लागि यो पटक फाराम भरेको बताएका छन्। त्यसको हिसाबले हरेक परीक्षार्थीले थप १ हजार रकम तिर्नुपर्दा १ लाख ५० हजार अतिरिक्त रकम जम्मा हुने देखिन्छ। 

यसरी रकम उठाउने नियतले यातायात कार्यालय र ट्राफिक प्रहरीको मिलेमतोमा र ड्राइभिङ सेन्टरको आवरणमा रकम संकलन गरिरहेको परीक्षार्थीहरुले आरोप लगाएका छन्। 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस