सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका ३ 'तालिमे' प्रहरीले नियम उलंघन गरी मोटरसाइकल हुइँक्याएपछि...

२०७७ चैत्र ८, ०९:३८ खबर संवाददाता

धनगढीः शान्ति सुरक्षा तथा नियम कार्यान्वयन सम्बन्धी तालिम लिइरहेका ३ प्रहरी जवानले आफै नियम उलंघन गरेपछि ठूलो मूल्य चुकाउनु परेको छ।

नियम उलंघन गरी चलाइरहेको मोटरसाइकल दुर्घटनामा परेपछि उनीहरु आफ्नो सुनौलो जीवनको पहिलो खुड्किलोमै ठूलो धक्काको सामना गर्नुपर्ने अवस्था सिर्जना भएको हो। 

प्रहरी तालिम केन्द्र दिपायलमा जवान पदको तालिम लिइरहेका धनगढी उपमहानगरपालिका १२ का २० वर्षीय दलबहादुर भण्डारी, बेलौरी नगरपालिका ९ का २० वर्षीय लोकरञ्जन भट्ट र बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका ७ का २१ वर्षीय दिपेन्द्र खड्का शनिबार विदाको समयमा घुम्न निस्किएका थिए।

तालिम केन्द्र दिपायलका प्रहरी सहायक निरीक्षक डम्बर कठायतका अनुसार उनीहरु  सवार म २ प ४६७४ नम्बरको मोटरसाइकल शनिबार दिपायल सिलगढी नगरपालिका–४ सुनगणा ट्राफिक प्रहरी कार्यालय नजिक दुर्घटनामा परेको थियो। तीव्र गतिमा रहेका उनीहरु घुम्टीमा अनियन्त्रित हुँदा दुर्घटनामा परेको प्रहरी सहायक निरीक्षक कठायत बताउँछन्।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरुलाई शनिबार नै नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी ल्याएको थियो। उनीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको टाउको र हात खुट्टामा चोट लागेको छ। घाइते मध्ये दिपेन्द्र खड्कालाई आईसीयूमा राखिएको अस्पतालले जनाएको छ।

प्रहरी सहायक निरीक्षक कठायतका अनुसार तीनै जनाले गत मंसिर ३ गतेदेखि प्रहरी सेवामा प्रवेश गरेका थिए। तर २३४ दिने तालिममा सहभागी उनीहरुको तालिमको आधा कार्स पनि नसकिँदै धक्का बेहोर्नु परेको हो। 

एकातिर दुर्घटनामा पर्दा शरीरिक समस्या भोग्नु परेको छ। भने अर्कोतिर उनीहरुलाई थप विभागीय कारवाही पनि हुने बताइएको छ।

यसैबीच प्रहरी तालिम केन्द्र दिपायलले घटनाबारे अनुसन्धान गर्न समिति समेत गठन गर्ने भएको छ। सोही समितिले घटनाको अनुसन्धान गरि कारवाही अगाडि बढाउने बताउँदै कठायतले उनीहरुबाट ट्राफिक नियम उलंघन गरिएको देखिएकोले सोही अनुसार कारवाही हुन सक्ने जानकारी दिए। तर यसमा प्रहरी ऐन समेत आकर्षित हुने भएकोले थप केही कारवाही समेत हुन सक्ने कठायतले बताए। 

सम्बन्धित समाचार

डोटीमा ३ जना प्रशिक्षार्थी प्रहरी जवान सवार मोटरसाइकल दुर्घटना
डोटी दुर्घटना अपडेटः घाइते ३ जना प्रशिक्षार्थी प्रहरी जवानलाई धनगढी ल्याइयो

 

कमेन्ट लोड गर्नुस