धनगढीवासीको नियतीः घर छेउमै खानेपानी ट्यांकी, तर नल्काकै भर
धनगढीः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी बजारभित्रैका सयौं घरधुरी हालसम्म आर्सेनिकयुक्त पानी पिउन बाध्य भएको पाइएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को रिङ रोड क्षेत्रका करिव ५ सय परिवारले वस्ती नजिकै फाप्लामा खानेपानी टंकी भएपनि आफूहरुले खानेपानी उपभोग गर्न नपाएको गुनासो गरेका छन्।
स्थानीय निता चन्द शाहीले भनिन्, “फाप्ला खानेपानी टंकीको पानी टाढाका वस्ती र टोलमा वितरण गरेको भएपनि आफूहरुको टोलमा भने अनुरोध गर्दा समेत पाइप लाइन समेत विस्तार गरिएन्। जसको कारण हामीले हाते पम्पको आर्सेनिकयुक्त पानी खानु परेको छ।”
रिङ रोड क्षेत्रका शाही टोल, गौशाला टोल, कालिका टोल, वीरेन्द्र टोल र बडरा टोलका झण्डै ५ सय परिवारले नजिकै खानेपानी संस्थानको फाप्ला पम्पीङ स्टेशन भएर पनि खानेपानी सुविधाबाट बञ्चित छन्।
“वस्ती नजिकै खानेपानीको टंकी छ तर टाढा पाइप लाइन बिछ्याएर पानी दिइएको भएपनि आफ्नो टोलका स्थानीयले निवेदन दिएर अनुरोध गर्दा समेत पानी नदिएर आफूहरुलाई हेप्ने काम भएको छ। खानेपानी कार्यालय, वडा कार्यालय पटक–पटक धाउँदा समेत कुनै सुनुवाइ भएन” अर्की स्थानीय शिवादेवी शाहीले आक्रोशित हुँदै भनिन्।
फाप्लामा रहेको खानेपानी टंकीको वितरण क्षमता दैनिक ४ लाख ५० हजार लिटर रहेको र सो टंकीबाट ५ हजार घरधुरीमा धारा जडान गर्न सकिने क्षमता रहेको भएपनि अहिलेसम्म १ हजार ५ सय घरमा मात्रै धारा जडान गरिएको खानेपानी संस्थान धनगढीले जनाएको छ।
“हाम्रो काम नै पानी घर–घरमा पुगाउने हो। उपभोक्ताहरुले ६ हजार ३ सय ९० धरौटीसहित राजश्व बुझाएर कार्यालयमा निवेदन दिएमा पाइप लाइन विस्तार गरि सबै वस्तीका घरमा धारा जडान गर्न तत्पर छौँ” खानेपानी संस्थान धनगढीका प्रमुख अरविन्द कुमार लाल कर्णले भने।
खानेपानी संस्थान धनगढीले मात्रै धनगढी उपमहानगरपालिकाभित्र ७ हजार ५ सय धारा जडान गरेको जनाएको छ। नगर क्षेत्रमा ४ वटा ओभर हेड टंकी रहनुको साथै तारानगर, बोराडाँडी, शान्तिनगर, तिल्केताल, खल्यानचौरमा समेत पम्पीङ स्टेशन रहेको भएपनि अझै नगर क्षेत्रका हजारौँ घरमा शुद्ध खानेपानी पुगाउँन नसकिदा खानेपानीको आधारभुत सुविधाबाट ठूलो जनसंख्या बञ्चित भइरहेको छ।