सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा फोहर व्यवस्थापनको योजना नहुँदा नगरका खोलानाला ल्यान्डफिल साइट बन्दै

२०७७ फाल्गुन २७, ०६:३२ नारायण अवस्थी

धनगढीः महानगर बन्ने क्रममा रहेको धनगढी उपमहानगरपालिकामा फोहरमैला व्यवस्थापनको योजना कार्यान्वय नहुँदा नगरका विभिन्न खोलानाला ल्यान्डफिल साइटमा परिणत भइरहेको भन्दै नगरबासी फेरि दुःखेसो पोख्न थालेका छन्। 

उप–महानगरपालिकाले धनगढीको मुख्य बजार क्षेत्र रहेको कैलाली पुलको तटबन्धमा फोहर विर्जन गर्न थालेपछि जनआक्रोश बढेको छ। 

नदीनालामा फोहरमैला फ्याक्दा नजिकैका बस्तीमा मात्र होइन पानीमा पनि दुर्गन्ध फैलिएर मानिसदेखि जलचरसम्म प्रदूषणको चपेटामा परेका छन्। 

फोहरमैला र दुर्गन्धका कारण धनगढीमा स्वास्थ्य समस्या आउला कि भन्ने भय उत्पन्न भएको छ। 

धनगढी उप–महानगरपालिका वडा नम्बर १ को कैलाली पुल रहेको कैलाली टोलको खोला किनारमा १७ लाख रुपैयाँ खर्चेर तटबन्ध निर्माण गरिएको छ। 

ग्याविन जालीले गरिएको तटबन्धमा माटो या वालुवाले भरान गर्नुपर्नेमा त्यसो नगरी नगर क्षेत्रबाट संकलन गरिएको फोहर मात्रै फाल्ने काम स्वयंम नगरपालिकाले नै गरेको छ। 

जसका कारण स्थानीयवासीले दुर्गन्धका साथै, झिंगा र लामखुट्टेको आक्रमणको सामना गर्नु परिरहेको छ। त्यस क्षेत्रमा रहेको आरएस इलेक्ट्रोनिक्सका सञ्चालक व्यवसायी रमेश साँउदले दुर्गन्धले पसलमा बस्न मुस्किल हुने गरेको बताएका छन्। 

‘दुई महिना भइसक्यो नगरपालिकाले फोहर फाल्ने गरेको छ। तर माटोले नपुर्दा दुर्गन्ध तथा झिंगा र लामखुट्टेको आतंकले सास्ती खेप्नु परेको छ। नगरपालिकाले  बेवास्ता गर्दा निकै समस्यामा छौँ’ साँउदले भने।

कैलाली टोलमा एक दर्जन पसलहरु छन्। सो क्षेत्रका व्यवसायीले चन्द्रबहादुर विश्वकर्माले दुर्गन्धका कारण आफ्नो पसलमा मान्छेहरु आउनै छोडेको बताए। 

‘गर्मी बढेसँगै दिनप्रति दिन दुर्गन्ध बढ्दा व्यवसाय र स्वास्थ्यमा गम्भीर असर पर्ने चिन्ताले सताउने गरेको छ,’ विश्वकर्माले भने।

धनगढी नगरमा रहेका कैलाली, सुकुटी, शिवनागर लगायतका खोलानाला किनार र सडक किनारमा समेत जथाभाबी फोहर फाल्ने क्रम समेत बढेको देख्न सकिन्छ। 

उपमहानगरपालिकाले फोहर व्यवस्थापनको योजना नै नबनाएको कारण आफूहरुले हानिकारक मानिएका प्लास्टिक समेत बाध्य भएर जलाउनु परेको बताउँछिन धनगढीको उत्तरबेहडीकी गौरा साँउद।

धनगढी उपमहानगरपालिकाले भने फोहर व्यवस्थापनको योजना अगाडि बढ्न नसक्दा फोहर व्यवस्थापन गर्न समस्या भएको जनाएको छ। तर कैलाली टोलमा भने टोल विकास समितिको अनुरोधमै खाडल पुर्न फोहर फालिएको स्पस्ट पारेको छ।

धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले भने छिट्टै कैलाली टोलको फोहर पुर्ने बताएका छन्। उनले घनाबस्ती भएको धनगढीमा फोहर व्यवस्थापन गर्नु निकै चुनौतीपूर्ण भएको तर सार्वजनिक निजी साझेदारीको प्रारुपमा फोहर व्यवस्थापनको योजना छिट्टै अगाडि बढाइने दावी गरे। 

एसीयाली विकास बैंक (एडीबी)को नगर पूर्वाधार विकास आयोजना अन्तर्गत भइरहेको सडक विस्तारसँगै धनगढीमा एकिकृत फोहर व्यवस्थापन केन्द्र स्थापना गर्ने योजना रहेको छ। 

तर पनि उपमहानगरपालिकाले ल्यान्ड फिल साइटका लागि जग्गा व्यवस्थापन गर्न नसक्दा सो योजना अगाडि बढ्न सकेको छैन।

फोहरमैला व्यवस्थापन नीति र नियमका अभावमा धनगढीवासीले प्लास्टिकजन्य फोहरमैला समेत जताततै जलाइरहेको देख्न सकिन्छ। त्यो सँगै दुर्गन्ध र वायु तथा नदीनालको पानी प्रदूषण पनि जारी छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस