कैलालीको चुरेमा 'कमसल सामग्रीले' प्रसूति केन्द्र भवन बन्दै
धनगढीः कैलालीको चुरे गाउँपालिका वडा नम्बर ३ को भीमदत्त राजमार्गदेखि करिब एक सय ५० मिटर पूर्वमा रहेको सहजपुर स्वास्थ्य चौकी पुग्दा केही स्थानीयहरु जम्मा भएका थिए। उनीहरु लेन्टर (छत) हालेर ढलान गर्न बाँकी रहेको भवनमा प्रयोग भएका इँटा फुटाउँदै कमसल रहेको भन्दै एकआपसमा कुराकानी गरिरहेका थिए।
स्वास्थ्य कार्यालय कैलालीमार्फत सुदूरपश्चिम सरकारले २५ लाखको लागत रहेको भवन उपभोक्ता समितिमार्फत निर्माण भएको हो। भवनमा १७ हजार मध्ये ५ सय इँटा कमसल प्रयोग गरिएको वडाध्यक्ष टेकबहादुर शाहीले बताए।
उनले भने, “५ सय कमसल इँटा प्रयोग भएका छन्। ३ सय बाहिर छन्। मैले भनेको होे। पछि आएको गााडी उहाँहरुले ल्याउनु भएन।”
उनले भवनमा प्रयोग भएका इँटा देखाउँदै भने, “भवनको तल प्रयोग भएका राम्रा छन्। तर माथि प्रयोग गरिएका कमसल देखिन्छन्। यो मात्र फेर्न सकिन्छ।”
स्वास्थ्य कार्यालय कैलालीले निर्माण गरेका प्रसूति केन्द्रका भवनमा कमसल निर्माण सामग्री प्रयोग गरिएको आरोप स्थानीयको छ।
सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा जिल्लाको चुरे गाउँपालिकालगायतका ठाउँमा निर्माण गरिएका प्रसूति केन्द्रको भवनमा कमसल सामग्री प्रयोग गरिएको भन्दै मिलेमतो हुन सेक्ने आशंका गरिएको छ। उपभोक्ता समितिले भने स्वास्थ्य कार्यालयले एक पटक स्वीकृत भएको डिजाइन एस्टिमेट बारम्बार परिवर्तन गरेपछि समस्या भएको बताएको छ।
'डिजाइन एस्टिमेटमा त्रुटि'
स्वास्थ्य कार्यालयले डिजाइन एस्टिमेट बनाउँदा केही त्रुटि भएको बताइएको छ।
उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र रानाले स्वास्थ्य कार्यालय कैलालीले पटक–पटक स्वीकृत डिजाइन र एस्टिमेटमा परिवतर्न गर्दा आफूहरुलाई समस्या भएको गुनासो गरे। उनले उपभोक्ता समितिबाट भवन निर्माण गरिएको भएपनि निर्माण व्यवसायीले काम गरेको बताए।
चुरेसहित कैलालीमा ७ ठाउँमा प्रसूति केन्द्र भवन निर्माणका लागि प्रदेश सरकारले स्वास्थ्य कार्यालय कैलालीलाई २५ लाखका दरले चालु आर्थिक वर्षमा १ करोड ७५ लाख बजेट दिएको छ। सुरुमा ८ वटा पिलरसहितको प्रसूति केन्द्र निर्माण गर्न दिएको एस्टिमेटमा परिमार्जन गर्दै १२ पिलरको हुनुपर्ने बनाएपछि प्रसूति केन्द्र निर्माण गर्ने उपभोक्ता समितिहरुले समस्या भएको बताइरहेका छन्। तर स्वास्थ्य कार्यालयले भने उपभोक्ता समितिले सम्झौता बमोजिम काम नगरेको बताउन थालेको छ।
स्वास्थ्य कार्यालय कैलालीका निमिक्त प्रमुख लालबहादुर धामीले गत वर्ष बनाइएको डिजाइनका कारणा केही समस्या भएको बताए। प्रदेश सरकारले कार्यक्रम छनौट गर्दा पिलरसहितको भनेको तर गत वर्षहरुमा निर्माण गरिए प्रसूति भवनमा पिल्लर नहालिएको उनले बताए।
चुरे मात्र नभएर अन्य ठाउँमा निर्माण भइरहेका प्रसूति केन्द्रका भवनमा समेत यस्तै कमसल काम भइरहेको गुनासाहरु आउन थालेका छन्।