सुदूरपश्चिमको राजधानी: गोदावरी नदी दोहन तीव्र, भूमिगत जलभण्डार रित्तिएर काकाकुल हुने चिन्ता
दिनेशखबर खोज
तेघरी सामुदायिक वन, गोदावरी: सुदूरपश्चिमको राजधानी तोकिएको गोदावरीको तेघरीवसी गौतमी धामीको ट्युब वेल धारा अर्थात् नल्काबाट दुई वर्षअघिसम्म पर्याप्त पानी आउथ्यो। तर त्यो बिस्तारै सुक्दै गएर अहिले नल्का पूरै सुख्खा हुनपुगेपछि गौतमी धामीले पानी संकट भोग्न थालेकी छन्।
पानी नतान्ने नल्काको ह्यान्डल समातेर चलाउँदै उनले दिनेशखबरसँग भनिन्, ‘अहिले नल्काबाट पानी आउनै छोड्यो, हामीले धेरै दु:ख पाइराख्या छौँ। पाइपबाट पानी नआउँदो हो त हामी पानी नपाएर मर्ने थियौँ।’
सुदूरपश्चिमको राजधानी तोकिएको गोदावरी नगरपालिकाको तेघरीको राजधानीवसी अहिले नगरमा खनिएका ‘डिप बोरिङ’ गरिएका गहिरा इनारबाट तानेर वितरण गरेको पानीमा निर्भर भइरहेका छन्। त्यो पनि कहिले सुक्ने हो र ‘डीप बोरिङ’ गरिएको ठाउँमा कहिले अझै गहिरो इनार खन्नु पर्ने हो त्यो कसैलाई पनि थाहा छैन।
नल्का सुकेर पानी संकट झेल्न बाध्य हुने गौतमी धामी एक्ली होइनन्। गोदावरीको तेघरी क्षेत्रका करिब ३,००० स्थानीयबासीले अहिले उनले जस्तै पानी संकट भोगिरहेका छन् जसका कारण उनीहरूको खेतबारीमा सिँचाइ नै हुन छाडेको छ। पिउने पानीको जोहो गहिरिँदै गइरहेको भएपनि भूमिगत जलभण्डारबाट जेनतेन भइरहेकै छ।
गोदावरी नदीमा टिपर र एक्स्क्याभेटर
सुदूरपश्चिमको राजधानी तेघरी सामुदायिक वन क्षेत्रमैँ हुने भनिएको छ जहाँ कम्तिमा २०,००० रुख बिरुवा मासिने खुलासा दिनेशखबर खोजले हालै मात्र गरिसकेको छ। अहिले गोदावरी नदी क्षेत्र प्रवेश गर्न तेघरी सामुदायिक वन भित्र करिब ६ वडा धुले सडक बनिसकेका छन्।
त्यसैले गोदावरी नदीमा हिजोआज टिपर ट्रक, ट्र्याक्टर एक्स्क्याभेटर र जेसीभीको ओहोरदोहोर बाक्लै छ। त्यस्ता गह्रुंगा उपकरण प्रयोग गरी गोदावरी नदीबाट ढुंगा तथा बालुवा निकाल्न थालिएपछि नदीमा गहिरा खाडल पर्न थालेका छन्।
गोदावरी नदीको तीव्र दोहन जारी रहेपछि नदीमा त पानी सुक्ने नै भयो। गोदावरी क्षेत्रमा नदीसँगै पानीको सतह तल जान थालेपछि नजिकैको तेघरी गाउँमा खनिएका ट्युब वेल धारा (नल्का) पनि भटाभट सुक्न थालेका छन् जसका कारण गोदावरी क्षेत्रमा पानी सङ्कट सुरु भइसकेको छ।
चुरे पहाडको काखमा रहेको गोदावरी नदीमा ढुङ्खा, गिट्टी र बालुवा दोहन रोक्न स्थानीयवसीले प्रयास गरेपनि स्थानीय सरकारले नै आँखा चिम्लिँदा नदी दोहन रोक्न नसकिएको भन्दै स्थानीयबासी आक्रोशित भएका हुन्।
वन क्षेत्र जोडिएको र चुरेको फेदबाट नदीजन्य पदार्थ उत्खनन् गर्न नपाइने भएपनि त्यसको बेवास्ता गर्दै ‘नगरपालिकाले आफ्ना मान्छेलाई ठेक्का दिँदा’ नदीमा जथाभाबी दोहन भइरहेको स्थानीयले आरोप लगाएका छन्।
सामुदायिक वन नै संकटमा
तेघरी सामुदायिक वनका संस्थापक अध्यक्ष प्रकाशदत्त भट्टले २०५२ सालदेखि संरक्षण गरेर जोगाएको तेघरीको वन क्षेत्रमा राजधानी घोषणा गरेपछि सो क्षेत्रमा चौतर्फी अतिक्रमण भइरहेको दिनेशखबरलाई बताए,
‘हामीले संरक्षण गरेको वनमा राजधानी तोकियो तर कसैले पनि हामीलाई निर्णय गर्दा या त्यसपछि पनि सोध्न समेत आवश्यक ठानेनन्। सबैले विरोध गर्दा पनि सुनुवाइ भएन अहिले झन् खोला र जंगलमा समेत भइरहेको दोहनले बस्तीमा पानीको समेत समस्या भोग्नु परेको छ। हाते पम्पमा पानी नै आउँदैन।’
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश राजधानी तोकेको तेघरी सामुदायिक वन धनगढीबाट २० किलोमिटरको दुरीमा छ। झन्डै ३ सय ४० हेक्टर क्षेत्रमा फैलिएको सो सामुदायिक वनको ३ सय बिघा मध्ये ‘५० बिघामा हरियाली जोगाएर’ राजधानीका लागि भौतिक संरचना बनाउने प्रदेश सरकारको योजना रहेको बताइएको छ।
सामुदायिक वनको छहारी
गोदावरीको तेघरी सामुदायिक वनमा एक हजार परिवार घाँस, दाउरा र काठका लागि आश्रित रहेको बताइएको छ। प्रदेश र स्थानीय सरकारले उपभोक्तालाई बेवास्ता गरेर राजधानी घोषणा गरेको प्रति समेत स्थानीयले तीव्र असन्तुष्टि पोखेका छन्।
तेघरी सामुदायिक वनकी सचिव कृष्णा महरा आफूहरूलाई सरकारले बेवास्ता गरेकोले धेरै नै रिसाएकी छन्, ‘सरकारले त्यत्रो निर्णय गर्यो। अहिले नदीबाट ढुङ्गा लगिरहेका छन् दिनरात। यहाँ राजधानी बनाउने भनेर कोही आयो भने म नै पहिला विरोधमा उत्रनेछु।’
तेघरी वनमा अतिक्रमण, रुख कटान र वन क्षेत्रमा पर्ने गोदावरी नदीबाट दैनिक सयभन्दा बढी ट्याक्टरले जथाभावी नदीजन्य पदार्थ दोहन गरेर लगि रहेको र राजधानी घोषणा भएपछि सो क्षेत्रमा वन तथा प्राकृतिक स्रोतको दोहन झनै तीव्र भएको तेघरीवासी बताउँछन्।
तेघरी सामुदायिक वनका कोषाध्यक्ष खेमराज ओझाका अनुसार नगरपालिकाले वातावरणीय प्रभाव मुल्याकंन (ईआईए) प्रतिवेनद विना नै नदी उत्खननका लागि ठेक्का लगाएपछि ‘जथाभावी दोहन भइरहेको छ र स्थानीयवसीले मौन समर्थन गरिरहेका’ छन्।
गोदावरी नगरपालिका के भन्छ ?
स्थानीयले गोदावरी नगरपालिकाले नदीको दोहन गर्न ठेक्का लगाएको आरोप लगाएपनि नगरपालिकाले भने मापदण्ड र ईआईए प्रतिवेनद तयार गरेर नै ठेक्का लगाएको दाबी गरेको छ।
नगर प्रवक्ता शर्मानन्द भट्टले दिनेशखबरसँग भने, ‘नदीमा मापदण्ड अनुसार र ईआईए गरेर नै ठेक्का लगाएको तर ठेकदारले तोकिएभन्दा अन्य काम गरिरहेको पाइए कारवाही गरिने छ।’
गोदावरी नगरपालिका वडा नम्बर २ का अध्यक्ष कृष्णराज जोशीले भने कम कम भन्दा कम वातावरणीय क्षति हुने गरी वडामा कामहरू अघि बढिरहेको दिनेशखबरलाई बताए।
अहिले प्रदेश राजधानी तोकिएको तेघरी सामुदायिक वनमा पर्ने गोदावरी नदीमा नदीको बीच भागमा झन्डै १२ फिट गहिराइ हुनेगरी नदीको सतहको उत्खनन् र दोहन भइरहेको दिनेशखबर संवाददाताहरूले स्थलगत निरीक्षणको क्रममा पाइयो।
जसले गर्दा प्रस्तावित राजधानी क्षेत्रमै भविष्यमा बाढी, कटान र पर्यावरणीय क्षति हुने भन्दै चिन्ताहरू व्यक्त भइरहेका छन्।
रित्तिँतै जलभण्डार
नेपालको तराई र पहाडी उपत्यकाका भूमिगत जलभण्डारबारे अध्ययन गरेका अध्येता दिव्यरत्न कंसाकारले १५ वर्षअघि गरेको एक सोध अनुसार नेपालको पश्चिमदेखि पूर्व तराईमा पिउन र सिँचाइका लागि भूमिगत पानी तान्ने क्रम तीव्र भएकोले जलभण्डार थप रित्तिने र पानी संकट आउने सम्भावना बढेर गएको छ।
त्यसको कारण हो जति पानी जमिन मुनिबाट माथि तान्ने गरिएको छ त्यही परिमाणमा भूमिगत जलभण्डारमा वर्षा वा अन्य माध्यमबाट पानीको पुनर्भरण भइरहेको छैन।
अन्तर्राष्ट्रिय पानी व्यवस्थापन इन्स्टिच्युट आईडब्लूएमआईका लागि उनले लेखेको अध्ययन प्रतिवेदनमा सन् १९९२ को एक अध्ययनको चर्चा गरिएको छ। जसअनुसार नेपालको पहाडी उपत्यकादेखि भित्री मधेस र तराई क्षेत्रमा वर्षिक रूपमा १८ मिलियन घन मिटर पानी माथि तान्ने गरिएको छ, तर ती स्थानमा वर्षा र बाढीका बेला ५ मिलियन घन मिटर पानी मात्र पुनर्भरण हुने गरेको छ।
त्यस्तो अवस्थामा भूमिगत जलभण्डारमा पानी पुनर्भरण गर्नेबारे थप अध्ययनको खाँचो औँल्याएका छन्।
वातावरणविद्हरू भन्छन् नदीको तीव्र दोहन जारी रहेमा गोदावरी क्षेत्रमा भूमिगत पानीको सतह अझै तल जाने क्रम जारी रहने छ र पानी संकट भविष्यमा अझै विकराल हुन सक्छ।
भूमिगत जलभण्डारको पुनर्भरणका लागि माथिल्लो तटीय क्षेत्रमा गोदावरी नदी थुनेर तालतलैया बनाएर बर्खाको पानी भण्डार गरेमा भूमिगत जलसतह घट्ने क्रम रोकिन सक्ने उनीहरूको अपेक्षा छ।
तेघरीको राजधानी टोलकी गौतमी धामीलाई भने उनको घर नजिकैको तोरीबारीमा रहेको नल्कामा पानी सुक्नाको कारण थाहै छैन।
भन्छिन्, ‘पानी किन सुक्यो होला त्यो त म कसरी जान्नु बाबु?’
सुदूरपश्चिमको राजधानी: गोदावरीको तेघरी सामुदायिक वनमा हुने क्षतिबारे नयाँ खुलासा
प्रदेश राजधानी गोदावरीमा अहिले के काम भइरहेको छ ?
(सुरेन्द्र फुयाल र कमल सावदको सहयोगमा)