सुदूरपश्चिमको राजधानी: गोदावरीको तेघरी सामुदायिक वनमा हुने क्षतिबारे नयाँ खुलासा
दिनेशखबर खोज
तेघरी सामुदायिक वन: गोदावरीको तेघरीमा सुदूरपश्चिमको राजधानी निर्माण गर्दा कम्तिमा २० हजार रुख-विरुवा मासिने खुलासा दिनेशखबर खोजले गरेको छ। जैविक मार्गमा पर्ने वनमा राजधानी बनाउनुअघि सरसल्लाह नै नगरिएको भन्दै तेघरी सामुदायिक वनका उपभोक्ता आक्रोशित छन्।
तेघरीमा राजधानी निर्माण गरिँदा दशकौँदेखि जोगाइएको मोहना जैविक मार्ग समेत मासिने चिन्ता व्याप्त छ।
प्रदेशका अधिकारीहरूले तेघरी सामुदायिक वनको ३०० बिघामध्ये ५० बिघामा मात्र कमभन्दा कम रुख-विरुवा मासेर राजधानी बनाउने योजना यसअघि नै सार्वजनिक गरिसकेका छन्।
५० बिघामा कति रुख-विरुवा?
तेघरी सामुदायिक वन क्षेत्रमा सुदूरपश्चिमको राजधानी निर्माण गर्दा ५० बिघा वन क्षेत्रको कम्तिमा २० हजार रुख-विरुवा मासिने दिनेशखबर खोजले देखाएको छ।
दिनेशखबर खोजले भविष्यमा राजधानीका लागि थप भवन तथा संरचना विस्तार गर्दा थप हजारौँहजार रुख-विरुवा मासिने र तेघरी सामुदायिक वन इतिहासमा परिणत हुनसक्ने सम्भावना देखाएको छ।
चुरेको फेदीको महत्त्वपूर्ण वनमा राजधानी बनाउने घोषणा विवादको घेरामा तानिएपछि त्यो मुद्दा सर्वोच्च अदालत पुगेको छ। जहाँ त्यो अझै विचाराधिन नै छ।
तर गोदावरी नदी किनारको तेघरी सामुदायिक वनमा राजधानी निर्माण गर्दा लोपोन्मुख वन्यजन्तु विचरण गर्ने मोहना जैविक मार्ग समेत मासिने चिन्ता व्याप्त छ।
गोदावरीमा राजधानी घोषणा गर्नु सुदूरपश्चिम प्रदेश सरकारको तीन वर्षको एक मुख्य उपलब्धि हो। गोदावरीको वन मासेर सुदूरपश्चिमको राजधानी बनाउने प्रस्ताव सुरुदेखि नै अत्यन्त विवादित रह्यो।
सामुदायिक वन उपभोक्ता आक्रोशित
अहिले पनि गोदावरी किनारमा कम्तिमा ३ सय बिघामा आफूले दुःख गरेर हुर्काएको सामुदायिक वनमा कुनै सरसल्लाह नै नघरी राजधानी बनाउने घोषणा गरिएको भन्दै तेघरी सामुदायिक वनका उपभोक्ताहरू निकै दुःखी र चिन्तित भइरहेकै छन्।
प्रदेशसभाले २८ महिनाअघि 'सरोकारवालासँग छलफल नै नगरी एकलौटी ढंगले' गोदावरीमा राजधानी बनाउने घोषणा गरेपछि तेघरी सामुदायिक वनका उपभोक्ताहरूको मनमा दन्किन थालेको आक्रोशको आगो अझै निभिसकेको छैन, अझै शान्त भएको छैन।
तेघरी सामुदायिक वनकी सचिव कृष्णा महराले आक्रोशित हुँदै राजधानी कदापी निर्माण हुन नदिने बताइन।
उनले दिनेशखबरसँग भनिन, ‘हामीले दुःख गरेर जोगाएको वनमा प्रदेश राजधानी बनाउने निर्णय हामीलाई नै नसोधेर गरिएको छ। जुन कुराको विरोध सबैले गरेका छन्। कम्तिमा एक पटक त सोध्नु पर्थ्यो। हामी सरकारको निर्णयको विपक्षमा छौँ। बिरोध गर्न म सबैभन्दा अगाडि उभिने छु।’
आफ्नो भावनात्मक नाता रहेको हरियो वन मासिने अवस्था आएपछि तेघरी सामुदायिक वनका एक संस्थापक प्रकाशदत्त भट्ट पनि आक्रोशित एवम् दुःखी छन्।
भट्टले दिनेशखबरसँग भने, ‘२०५२ सालदखि संरक्षण गरिएको सामुदायिक वनमा प्रदेश सरकारले राजधानी तोक्नु गलत छ। तेघरीमा राजधानी तोकिएपछि वन अतिक्रमण हुन थालेको छ। गोदावरी नदीमा समेत तीब्र दोहन भइरहेको छ। वन संरक्षण गर्नुपर्नेमा सरकार नै वन विनासमा लागेको छ।’
‘हरियो वन नेपालको धन’
सुदूरपश्चिमको राजधानी रहने भनिएको गोदावरी धनगढीदेखि २० किलोमिटर उत्तरमा पर्दछ। त्यहाँबाट पहाडी जिल्ला डडेलधुरा ११५ किलोमिटर पर रहेको छ।
तेघरीबासीले २०५२ सालदेखि संरक्षण गर्दै आइरहेको तेघरी सामुदायिक वनमा रुइनी, चाँदी, सिमल, सिसौ, खयर र नदी किनार छेउ केही सालका रुख छन्।
मोहना जैविक मार्ग पनि भनिने तेघरीको वनले पश्चिम र पूर्वका चुरेमुनिका वनहरूलाई जोड्दछ जहाँबाट दुर्लभ वन्यजन्तु ओहोरदोहोर गर्छन्।
दिनेशखबर खोजका क्रममा तेघरी सामुदायिक वनको ३०० बिघा मध्ये ५० बिघामा मात्र राजधानी निर्माण गर्दा पनि एक कट्ठामा औसत २० रुख-विरुवाका दरले कम्तिमा २० हजार रुख विरुवा मासिने देखिन्छ।
३०० बिघाको अन्य क्षेत्रमा भविष्यमा नयाँ नयाँ भवन र संरचना थपिँदै जाँदा थप वन विनाश हुने देखिन्छ।
अब गोदावरीमा राजधानी बनाउँन अदालतले कहिले बाटो खोलिदिने हो त्यो प्रस्ट छैन।
तेघरी सामुदायिक वनका कोषाध्यक्ष खेमराज ओझा राजधानी बनाउने हो भने सरकारले सबैभन्दा पहिला सामुदायिक वन उपभोक्तासँग परामर्श गर्नु पर्नेमा जोड दिन्छन्।
उनले दिनेशखबरसँग भने, ‘हामीसँग न स्थानीय सरकारले परामर्श गर्ने अवश्यकता ठान्यो न त प्रदेश सरकार या प्रदेश सभाले नै। राजधानी घोषणा गर्नुपूर्व उपभोक्ता र स्थानीयलाई एक पटक त सोध्नुपर्दथ्यो तर सोधिएन। जसका कारण पनि हामीहरु दु:खी छौँ।’
मोहना जैविक मार्ग
तेघरी सामुदायिक वन मोहना जैविक मार्गमा पर्ने भएकोले २०४० सालमा सरकारले सो वन क्षेत्रमा बसोबास गरिरहेका ६० परिवारको अन्यत्रै बसोबासको व्यवस्था मिलाएको प्रकाशदत्त भट्ट जस्ता स्थानीयबासीले बिर्सिएका छैनन्।
तर त्यसको ४० वर्षपछि फेरि सरकारको नजर गोदावरीको वनमा परेको छ जहाँ ठूला रुखहरूलाई हुर्कँदै गरेका झाडी बुट्यानले घेरेका छन्।
तेघरीमा राजधानी बनाउने घोषणापछि वन मासिने चिन्ता त बढेकै छ नै। अब भएको वनका रुख विरुवा पनि मासिन थालेका छन्। गोदावरी नदीमा नदीजन्य पदार्थको उत्खनन् सँगै वन विनाशको क्रम पनि बढेको बताउछिन् तेघरी सामुदायिक वनकी सचिव कृष्णा महरा।
‘राजधानी घोषणापछि तेघरी सामुदायिक वनमा रुख काटिने क्रम बढेको छ। गोदावरी नदीको दोहन पनि बढेको छ। हामीले रोक्न सकेका छैनौँ।’
सोझो हिसाबले पनि तेघरीको ५० बिघा वन मास्दा कम्तिमा २० हजार रुख-विरुवा मासिने देखिन्छ। वन प्राविधिकहरू पनि त्यसमा सहमत छन्। तर सामुदायिक वन उपभोक्ताहरू चाहिँ तेघरीमा ठूला रुखभन्दा बढी कुकाठ, झाडी बुट्यान र हुर्कँदै गरेका साना रुख विरुवा रहेको बताउँछन्।
आधिकारिक रुख गणना कहिले?
तर सुदूरपश्चिम प्रदेश राजधानी भौतिक पूर्वाधार विकास परियोजनाका कार्यकारी अधिकृत समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव गणेशराज भट्टले भने अहिलेसम्म सम्भाव्यता अध्ययन मात्रै भएकोले कति रुख काटिन्छन् भन्ने तथ्याङ्क सरकारसँग नभएको बताए।
उनले भने, ‘विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन आइसकेपछि मात्रै जग्गा प्राप्तिका लागि पहल गरिने छ। यो वर्ष नदी किनारमा तटबन्ध बनाउने योजना प्रदेश सरकारको छ।’
अब सर्वोच्च अदालत वा प्रदेशसभाले अर्को निर्णय नगरेसम्म गोदावरीमा सुदूरपश्चिमको राजधानी रहने निश्चितप्रायः छ। त्यसो भएमा तेघरी सामुदायिक वनसँगै मोहना जैविक मार्गको एक हिस्सा पनि इतिहास बन्ने बाटोमा जाने छ।
विज्ञहरू भन्छन् राजधानी बनाउदा जैविक मार्गमा हुने प्राकृतिक वन विनाशको क्षतिपूर्ति सम्भवतः कुनै पनि नयाँ वृक्षरोपण वा नयाँ उमारिने वनले दिन सक्दैन।