‘च्याम्पियन्स ३६– ग्रासरुट टू ग्लोरी’ अभियान सुरु
धनगढीः आगामी १० वर्षभित्र नेपाललाई टी–२० विश्वकप क्रिकेटको उपाधि दिलाउने दीर्घकालीन लक्ष्यसहित धनगढीबाट ‘च्याम्पियन्स ३६– ग्रासरुट टू ग्लोरी’ अभियान सुरु गरिएको छ। सन् २०३६ मा टी–२० विश्वकप उचाल्ने खेलाडी उत्पादन गर्ने उद्देश्यसहित गो ड्रीमर्सले अभियान अघि बढाएको हो।
अभियानको सुरुवाती चरणमा ऐश्वर्य विद्या निकेतनसँग १० वर्षे रणनीतिक सहकार्य घोषणा गरिएको छ। विद्यालयका प्राचार्य सञ्जय पन्त र गो ड्रीमर्सका अध्यक्ष सुवास शाहीले सम्झौतापत्रमा हस्ताक्षर गर्दै अभियान औपचारिक रूपमा सुरु गरेका हुन्।
अध्यक्ष शाहीका अनुसार आधारभूत तहबाटै प्रतिभाशाली युवा क्रिकेटर उत्पादन गरी सन् २०३६ सम्म नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी र विश्वस्तरीय टोलीका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ। अभियानलाई देशव्यापी रूपमा विस्तार गर्ने योजना पनि रहेको उनले बताए।
धनगढीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्रामको वातावरणीय प्रभाव मूल्यांकन ९भ्क्ष्ब्० सम्पन्न भई निर्माण प्रक्रियातर्फ अघि बढिरहेका बेला सुरु भएको यस अभियानलाई अर्थपूर्ण रूपमा हेरिएको छ। पूर्वाधार विकाससँगै दक्ष खेलाडी उत्पादनलाई समानान्तर रूपमा अघि बढाउने उद्देश्य अभियानको रहेको जनाइएको छ।
प्रदेशभर खेल विकास कार्यक्रम सञ्चालन गर्दै आएको गो ड्रीमर्स युवा प्रतिभा पहिचान र विकासमा सक्रिय संस्था हो। नेपाल सुपर लिगअन्तर्गत धनगढी एफसी क्लब पनि यसकै स्वामित्वमा रहेको छ भने प्रतिष्ठित अर्जुन ट्रफीको आयोजना समेत गर्दै आएको छ। यसअघि धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा फुलबारी र जुगेडामा ग्रासरुट क्रिकेट परियोजना सञ्चालन गरिसकेको छ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै विद्यालयका अध्यक्ष तथा पूर्व नगरप्रमुख निर्पबहादुर वडले सबै सरोकारवाला निकाय, अभिभावक, प्रशिक्षक र खेलाडीलाई अभियान सफल बनाउन आह्वान गरे। उनले सुदूरपश्चिमको खेल इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित अघि बढाइएको यो पहल भविष्यमा राष्ट्रिय गौरवको विषय बन्ने विश्वास व्यक्त गरे।
विद्यालयका प्राचार्य पन्तले सुदूरपश्चिम प्रदेश क्रिकेटका लागि उर्बर भूमि रहेको उल्लेख गर्दै यहाँ हुने प्रतियोगितामा दर्शकको उल्लेख्य उपस्थितिले क्रिकेटप्रतिको क्रेज स्पष्ट हुने बताए। फ्रेन्चाइजी मोडलमार्फत व्यावसायिक क्रिकेटको सुरुवात भएको भूमिबाटै १० वर्षे विश्वकप सपनाको बीउ रोप्न पाउँदा गर्व लागेको उनको भनाइ थियो।
अभियानअन्तर्गत विद्यालय तथा समुदाय स्तरबाट प्रतिभा खोजी र छनोट प्रक्रिया सुरु गरिनेछ। नियमित ट्रायल, अन्तरविद्यालय प्रतियोगिता र विशेष छनोट कार्यक्रममार्फत सम्भावनाशील खेलाडी पहिचान गरिने जनाइएको छ। छनोट भएका खेलाडीलाई व्यवस्थित र व्यावसायिक प्रशिक्षण प्रदान गरिनेछ, जसमा नेपाल क्रिकेट संघबाट विभिन्न तह पार गरेका प्रशिक्षक तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडीको सहभागिता रहनेछ।
प्रशिक्षणमा प्राविधिक सीप विकास, खेल रणनीति, फिटनेस, मानसिक सुदृढता, दबाब व्यवस्थापन, अनुशासन, टिमवर्क र नेतृत्व विकासलाई प्राथमिकता दिइनेछ। आधुनिक प्रशिक्षण प्रणाली, प्रदर्शन विश्लेषण तथा चरणबद्ध विकास मोडेलमार्फत खेलाडीलाई दीर्घकालीन रूपमा तयार गर्ने योजना रहेको छ।
खेलाडीलाई ‘म्याच एक्सपोजर’ प्रदान गर्न देशभित्र विभिन्न प्रतियोगितामा नियमित सहभागिता गराइनेछ भने भारतका प्रतिष्ठित क्रिकेट एकेडेमी तथा प्रतियोगितामा प्रशिक्षण र मैत्रीपूर्ण खेलको अवसर उपलब्ध गराइने बताइएको छ। आवश्यकता अनुसार अन्य क्रिकेट राष्ट्रमा प्रशिक्षण क्याम्प र अन्तर्राष्ट्रिय भ्रमणको व्यवस्था गरिने योजना पनि रहेको आयोजकले जनाएको छ।