सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्रालयमै सुत्केरी मृत्यु प्रकरणको फाइल हरायो, ७ वर्षदेखि सहमति कार्यान्वयन भएन

२०८२ फाल्गुन १२, ०४:१९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा सुत्केरी मृत्यु प्रकरणसँग सम्बन्धित फाइल हराएको खुलासा भएको छ। धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी २२ वर्षीया रेखा थापाको शल्यक्रियाको तीन दिनपछि भएको मृत्यु प्रकरणको फाइल मन्त्रालयमा नभेटिएको जनाइएको हो।

२०७५ चैत ४ गते सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा थापाको मृत्यु भएको थियो। चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै त्यसबेला आन्दोलनसमेत भएको थियो। त्यसपछि चैत ८ गते सेती प्रादेशिक अस्पताल, सामाजिक विकास मन्त्रालय, धनगढी उपमहानगरपालिका र पीडित पक्षबीच सहमति भएको थियो।

सहमति अनुसार घटनाको छानबिनका लागि समिति गठन गर्ने, शिशुको निःशुल्क उपचार गर्ने तथा शिशुको शिक्षा र पालनपोषणको व्यवस्था सामाजिक विकास मन्त्रालयले गर्ने उल्लेख थियो। तर, सात वर्ष बितिसक्दा पनि उक्त सहमति कार्यान्वयन नभएको पीडित पक्षको गुनासो छ।

मृतकका श्रीमान् जयबहादुर थापाले एक वर्ष लगाएर तयार पारेको फाइल मन्त्रालयमा पेस गरिएको भए पनि हाल सो फाइल नै गायब भएको बताएका छन्। सहमति कार्यान्वयन नभएको भन्दै पीडित पक्षले सोमबार सामाजिक विकास मन्त्रालय घेराउ गरेका छन्।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेले शिशुको उपचार अस्पतालले गर्ने र अन्य निर्णय कार्यान्वयनका लागि सामाजिक विकास मन्त्रालयको भूमिका आवश्यक रहेको बताए।

यता सामाजिक विकास मन्त्रालयका सचिव हेमराज रेग्मीले सम्बन्धित फाइल हराएको स्वीकार गर्दै पुनः फाइल तयार पार्नुपर्ने बताएका छन्। फाइल तयार पार्न एक वर्षसम्म समय लगाएर पनि हराएको सूचना आएपछि पीडित पक्ष आक्रोशित बनेको छ।

पीडितहरूले सेती प्रादेशिक अस्पतालको अभिलेखका आधारमा नयाँ फाइल तयार गरी तत्काल सहमति कार्यान्वयन गर्न माग गरेका छन्।

कमेन्ट लोड गर्नुस