अछामको फोटोले जित्यो यो वर्षको अन्तर्राष्ट्रिय फोटोग्राफीको अवार्ड
काठमाडौं : सोनी वर्ल्ड फोटोग्राफी अवार्डसको यो वर्षको नेसनल अवार्ड घोषणा भएको छ। यो वर्ष प्रज्ज्वल भट्टराईले अछामको रामारोशनमा खिचेको यो फोटोले नेपालको तर्फबाट अवार्ड जित्यो।
सोनीको प्रायोजनमा वर्ल्ड फोटोग्राफी अवार्डस् हरेक वर्ष हुने गर्छ। यो अवार्डसमा प्रोफेसनल, ओपन, युथ र स्टुडेन्ट गरी मूलतः चार वटा विधामा प्रतियोगिता हुने गर्छ। तर विभिन्न देशका फोटोग्राफरहरुलाई प्राथमिकता दिनका लागि यी विधामा इन्ट्री गर्ने छुट्टाछुट्टै देशका लागि छुट्टाछुट्टै नेसनल अवार्ड पनि दिने गरिन्छ।
प्रज्ज्वलले यो फोटो अछामको रामारोशनमा भलिबल खेल्दै गर्दा खिचेका हुन्। भलिबल नेपालको राष्ट्रिय खेल हो। उच्च पहाडी भागमा पनि यो लोकप्रिय छ।
यो फोटोमा ढुङ्गाको प्रवेश द्वारभित्र एउटा सार्वजनिक विद्यालयको चौर देखिन्छ। त्यहाँ छुट्टी भएपछि गाउँलेहरुले भलिबल खेल्दा रहेछन्। उनले यो फोटो खिच्दा त्यहाँ कुहिरो लागेको थियो। -माइसंसार डटकमबाट साभार