बैतडीमा किशोरी मृत भेटिएको घटनाको रहस्य गर्भमै, अहिलेसम्म के गर्दैछ प्रहरी?
धनगढीः बैतडीमा १७ वर्षीया किशोरी भागरथी भट्ट मृत अवस्थामा फेला परेको ३६ घण्टा बितेसकेको छ।
बिहीबार साँझ ५ बजेतिर दोगडाकेदार गाउँपालिका–७ की भट्ट स्थानीय लवलेक सामुदायिक वनमा मृत फेला परेपछि घटनास्थललाई नियन्त्रणमा लिएको प्रहरी अहिले पनि त्यही छ।
अनुसन्धानमा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको प्रहरीले मृतकको शव परीक्षणका लागि शुक्रबार अबेर जिल्ला अस्पताल बैतडी पठाएको थियो। बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले शव जिल्ला अस्पतालमै राखिएको बताए।
भट्टको बलात्कारपछि हत्या गरिएको आशंकामा सोहीअनुसार सुक्ष्म अनुसन्धानमा जुटेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले एसएसपी जनकराज पाण्डेको नेतृत्वमा छुट्टै टोली परिचालन गरेको छ।
टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका डीएसपी, क्षेत्रिय अनुसन्धान समूह आरआइटी लगायतका प्राविधिक प्रहरी अधिकृतहरु पनि छन्। धनगढीबाट शनिबार राति थप प्रहरी सोही घटनाको अनुसन्धानका लागि बैतडीतर्फ हिँडेका छन्।
विगतमा निर्मला प्रकरणमा भएको लापरवाहीले बदनाम भएको प्रहरी सोही प्रकृतिको भागरथी मृत्यु प्रकरणमा गम्भीर बनेको देखिन्छ। तर शव भेटिएको ३६ घण्टासम्म प्रहरीले घटनाबारे सार्वजनिक गर्नैपर्ने खालको प्रगति भने गर्न सकेको छैन।
शवको प्रकृति हेर्दा धेरैले बलात्कारपछि उनको हत्या भएको बताइरहदा प्रहरीले आधिकारीक रुपमा त्यो कुरा बोली सकेको छैन।
‘हामी आज पनि घटनास्थलमै छौँ,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक अधिकारीले दिनेशखबरसँग भने, ‘अनुसन्धानकै क्रममा रहेकाले अहिले यो नै हो भन्न सकिने अवस्था छैन।’
उनकाअनुसार शंकास्पद व्यक्तिहरुमाथि सोधपुछ गर्ने काम भइरहेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले पनि शव परीक्षणपछि मात्र बाँकी कुरा बताउन मिल्ने जनाए।
सम्बन्धित समाचार
बैतडीमा १७ वर्षीया किशोरीको शव फेला, हत्याको आशंका
बैतडीमा किशोरी मृत भेटिएको घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुर प्रयोग
अनेरास्ववीयू बैतडीले भन्यो– किशोरीको बलात्कारपछि हत्या
बैतडी किशोरी मृत फेला प्रकरणः हत्या गरिएको भन्दै स्थानीयद्वारा कारवाहीको माग
सरकारी वकिल र डाक्टर पनि घटनास्थलमा, किशोरीको मोबाईल विश्लेषण गर्दै प्रहरी
बैतडीमा एसएसपीको नेतृत्वमा छुट्टै टोली परिचालन, सीआईबीका डीएसपी पनि खटिए