धनगढीमा सुनका गरगहनासहित साढे ३ लाखको चोरी
धनगढीः धनगढीमा सुनका गरगहनासहित झण्डै साढे ३ लाख बराबरको चोरी भएको छ।
उप–महानगरपालिकाको शिव नगरका स्थानीय यशोदा बमको घरबाट गरगहनासहित मंगलबार राति चोरी भएको हो।
उनका बुवा घनबहादुर बमले घरमा कोही नभएको मौका छोपेर चोरले सुनका मुन्द्रा, तिलहरी, सिग्री, टप, औँठी, चाँदीका सिक्का, तामाको भाँडाकुँडा र घडी गरि करिब साढे ३ लाख बराबरको गरगहना चोरी गरेको बताए।
‘ज्वाई अछाममा शिक्षक हुनुहुन्छ, छोरी पनि तेघरी क्याम्पसमा पढाउँछ,’ उनले भने, ‘छोरी घरमा अरु कोही नभएकाले राति मेरो घरमा आउने गरेकी छ, सोही मौका पारेर चोरी भएको हो।’
चोरले लगेका नागरिकता लगायतका कागजात भने शिवनगर नालामा फेला परको उनले बताए। चोरीको घटनाको अनुसन्धानका लागि प्रहरीले निवेदन दिएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले सो विषयमा अनुसन्धान भइरहेको बताए। चोरीमा संलग्नलाई कारवाहीको दायरामा ल्याउने उनले जनाए।