पत्रकार महासंघ सुदूरपश्चिमको पाँचौं साधारणसभा सम्पन्न
धनगढीः नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको पाँचौं साधारणसभा शनिबार धनगढीमा सम्पन्न भएको छ। 'मर्यादित पत्रकारिता, सुरक्षित पत्रकार, श्रम अधिकार र प्रेस स्वतन्त्रता हाम्रो सरोकार' भन्ने मूल नारासहित सम्पन्न कार्यक्रममा पत्रकारिता क्षेत्रका समसामयिक मुद्दा, श्रम अधिकार, पेशागत सुरक्षा तथा प्रेस स्वतन्त्रताका विषयमा विस्तृत छलफल गरिएको थियो।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष भरत शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा प्रदेशका नौवटै जिल्लाबाट आएका पत्रकार महासंघका अध्यक्ष, सचिव, प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
साधारणसभामा विभिन्न जिल्लाका अध्यक्षहरूले पत्रकारितासँग सम्बन्धित वर्तमान चुनौतीहरूबारे धारणा राख्दै पत्रकारको स्वतन्त्रता, श्रम अधिकार र पेशागत सुरक्षामा राज्यले गम्भीर ध्यान दिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले स्वतन्त्र रूपमा सत्यतथ्य समाचार सम्प्रेषण गर्न अनुकूल वातावरण आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख नजिर मियाँले लोकतन्त्र, गणतन्त्र र संविधानको संरक्षण तथा संस्थागत विकासमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताए। उनले सञ्चार क्षेत्रलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै सुदूरपश्चिमको प्राकृतिक, भौगोलिक तथा पर्यटकीय सम्भावनाको प्रचारप्रसारमा पत्रकारिताको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिए।
त्यसैगरी, प्रदेश प्रहरी कार्यालयका प्रतिनिधि प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराईले पत्रकारहरूले दुर्गमदेखि सहरसम्म पुगेर जनताको आवाज उठाउने काम प्रशंसनीय रहेको बताए। उनले सूचना प्रवाह र जनचेतना अभिवृद्धिमा पत्रकारिताको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे।
नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष नीतु पण्डितले विभिन्न राजनीतिक तथा सामाजिक परिवर्तनका आन्दोलनहरूमा पत्रकारहरूको योगदान स्मरण गर्दै लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणमा सञ्चार क्षेत्रको भूमिका निर्णायक रहेको बताइन्। उनले मिडियाको विकास नै देशको विकाससँग जोडिएको उल्लेख गर्दै प्रदेशस्तरमा सञ्चार क्षेत्रको विस्तार आवश्यक रहेको धारणा राखिन्।
कार्यक्रममा पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका विभिन्न सञ्चारकर्मीहरूलाई सम्मानसमेत गरिएको थियो।
समापन समारोहमा अध्यक्ष भरत शाहले पत्रकारहरूको हकहित, पेशागत सुरक्षा, श्रम अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा नेपाल पत्रकार महासंघ सधैं प्रतिबद्ध रहने बताए।
कार्यक्रमको सञ्चालन महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव शिवराज भट्टले गरेका थिए।