मुख्यमन्त्रीको निर्वाचन क्षेत्रमा सडक पूर्वाधारका १ सय भन्दा बढी योजना
धनगढी: आर्थिक वर्ष २०८३/८४ को बजेटमा मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो निर्वाचन क्षेत्रमा एक सयभन्दा बढी योजनामा बजेट विनियोजन गरेका छन्।
मुख्यमन्त्री शाहले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने लम्कीचुहा नगरपालिकामा ४८ योजना, मोहन्याल गाउँपालिकाको वडा नम्बर ५ बाहेकमा २५ योजना तथा जानकी गाउँपालिकाको वडा नम्बर २, ५, ८ र ९ मा ४० वटा सडक पूर्वाधारका योजनामा बजेट छुट्याएका छन्।
मुख्यमन्त्री शाहले आफ्नो निर्वाचन क्षेत्रमा सडक र पुल निर्माण गर्न एउटै योजनामा बढीमा पाँच करोड तथा घटीमा पाँच लाख छुट्याएका छन्। लम्कीका सडक र सडक पुल योजनाका ४८ योजनामा ३० करोड ३१ लाख १० हजार बजेट हालिएको छ।
यस्तै, मोहन्याल गाउँपालिकाको ६ वटा वडामा सडक र पुलका २५ योजनामा २९ करोड ७९ लाख ४० हजार बजेट विनियोजन गरिएको छ। जानकी गाउँपालिकाको चार वडाका ४० योजनामा १७ करोड ५५ लाख बजेट राखिएको छ।
आर्थिक मामिला मन्त्रालय सार्वजनिक गरेको वार्षिक कार्यक्रम पुस्तिकामा मुख्यमन्त्री शाहको निर्वाचन क्षेत्रमा मात्रै सडक र पुल निर्माणमा ७८ करोड ४४ लाख ५० हजार बजेट छुट्याइएको छ।
वार्षिक कार्यक्रम पुस्तिकामा समेटिएका केही योजनामा भने दोहर्याएर बजेट हालिएको पाइएको छ।