सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली कञ्चनपुरका रानाथारु जातिले पहिलो सूचीकरण दिवस मनाउँदै

२०७७ माघ २०, ०४:४९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्लामा मात्रै बासोबास रहेको आदिवासी रानाथारु जातिले पहिलो सूचीकरण दिवस मनाउँन थालेका छन्।

वर्षौंदेखि आदिवासी जनजातिमा सूचीकरण गरिनु पर्ने माग गर्दै आएको सो जातिलाई गत वर्ष सरकारले अलग्गै जातिको रुपमा सूचीकृत गरेको थियो। सूचीकरणपछि आफुहरुको पहिचान खुलेको तथा अधिकार प्राप्तिको ढोका खुलेको भन्दै सो जाति तथा समुदायले मंगलबार पहिलो सूचीकरण दिवस मनाउँन थालेको रानाथारु समाजका केन्द्रीय उपाध्यक्ष कमल सिंह रानाले बताए।

सो जातिलाई गत वर्ष २० माघमा मन्त्रिपरिषद्को बैठकले आदिवासी जनजातिको रुपमा अलग्गै सूचीमा सूचीकृत गरेको हो ।समाजशास्त्री डा ओम गुरुङ संयोजकत्वमा विसं २०६५ सालमा गठित आदिवासी जनजाति सूची परिमार्जन उच्चस्तरीय कार्यदलको प्रतिवेदनका आधारमा सो समुदायलाई सूचीकृत गरिएको हो।

कैलाली कञ्चनपुर जिल्लामा सो जातिको छुट्टै पहिचान रहिआएको छ। भाषा, कला, संस्कृति, चाडपर्व, पहिरन, गहनालगागत छुट्टै पहिचान रहेको उपाध्यक्ष राना बताउँछन्। उपाध्यक्ष रानाका अनुसार कैलाली र कञ्चनपुरमा सो जातिको साढे ३ लाख बढी जनसंख्या रहेको छ।

कमेन्ट लोड गर्नुस