डडेल्धुरामा सिमेन्ट र छडको मुल्य आकाशियो
हरिश चन्द, डडेल्धुरा: डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ का करन साउदले गत हप्तादेखि घर बनाउन सुरु गरेका थिए।
तर घरमा आवश्यक सामग्री सिमेन्ट तथा फलामे छडको मुल्य दुई सातायता अकाशिएपछि उनी अहिले चिन्तामा छन्।
दुई साता अघिसम्म बजारमा ६ सय ५० रुपैँया हाराहारीमा रहेको ओपीसी सिमेन्टको मुल्य अहिले प्रतिबोरा ७ सय रुपैँया नाघेको छ। फलामे छड समेत प्रतिकिलो ७५ रुपैयाँबाट बढेर १ सय हाराहारी पुगेको छ।
पीपीसी सिमेन्टमा समेत प्रतिबोरा १ सय रुपैँयासम्म मुल्य बढाइएको छ। यसरी फलामे छड र सिमेन्टको मुल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन्।
उता व्यवसायीले भने कम्पनिले नै मुल्य बढाएको प्रतिक्रिया दिएका छन्। अहिले एक बोरी सिमेन्टमा ५० रुपैँया बढी मुल्य बृद्धि भएको केशव ट्रेडर्सका संचालक तीलक राज जोशीले बताए। ‘छडको मुल्य ७५ रुपैँयाबाट १ सय ५ रुपैँयासम्म बढेको हो’ उनले भने।
कम्पनीहरुले मुल्य बढाएको तर्कको आडमा व्यवसायीले मनलाग्दी रुपमा एकतर्फी मुल्यवृद्धि गरेको उपभोक्ताले आरोप लगाएका छन्। तर व्यवसायीले कतिसम्म मुनाफा लिएर कतिमा बिक्री गर्ने भन्नेबारे जिल्लामा अनुगमन गरिएको छैन।
लकडाउनले सेलाएको बजारमा निर्माण सामग्रीको माग बढ्दै जाँदा २ साताभित्रै सिमेन्टमा २ सयसम्म र छडमा ७० रुपैँयासम्म मुल्यवृद्धि भएका कारण उपभोक्ता मारमा परेका छन्।