विद्युतीय व्याट्रीमा समेत दुई नम्वरी धन्दा, करोडौैँको राजश्व स्वाहा (भिडियो रिपोर्ट)
चिनी र कपडा व्यापारीले भारतबाट सामान तस्करी गरी वार्षिक करोडौँको राजस्व छली गरिरहेका बेला इलेक्ट्रोनिक व्यापारीको पनि उहि हबिगत देखिएको हो । भारतबाट नेपाल आयात हुने चिनी, कपडा लगायतका सामानमा हुने तस्करी जस्तै विद्युतीय ब्याट्रीमा समेत दुई नम्बरी धन्दा हुने गरेको छ । धनगढीका इलेक्ट्रोनिक व्यापारीले मात्रै वार्षिक राज्यले पाउने ९८ प्रतिशत राजस्व छली गरिरहेका छन् ।
वर्षमा आधा अर्ब भन्दा बढि रकम बराबरका विद्युतीय ब्याट्रीको कारोबार गर्दै आएका व्यापारीले वार्षिक झन्डै ९ करोड राजस्व छलि गरिरहेका हुन् । भन्सारको बाटोबाट बैध भएर आउने ब्याट्रीको संख्या न्युन रहेको छ । चालु वर्षको हाल सम्म मात्र कैलाली भन्सार भएर साढे २३ सय ब्याट्री मात्र भित्रिएका छन् । त्यसबाट २९ लाख ८८ हजार राजस्व मात्र संकलन भएको भन्सार अधिकृत तथा सूचना अधिकारी गोपिकृष्ण उप्रेतीले बताए । जुन कुल कारोबारको २ प्रतिशत मात्र हो ।
धनगढीमा विद्युतीय ब्याट्रीको कारोबार गर्ने झण्डै २५ जना व्यापारी रहेका छन । त्यसमा थोरै पसलले मात्र भन्सार तिरेर ब्याट्री आयात गर्ने गरेका छन् । सरकारी कर्मचारी र सुरक्षा अधिकारीकै मिलेमतोमा तस्करी मौलाएपछि स्वच्छ प्रतिस्पर्धा गरिरहेका व्यावसायी मारमा परेका छन् भने उपभोक्ताले समेत स्तरीय समान नपाउने नियती रहि आएको छ । धनगढीको रातोपुलमा रहेको उग्रतारा टे«डिङ हाउसका सञ्चालक ओम पनेरुले भारतबाट अवैध रुपमा भित्रिने समाग्रीले आफुहरुले प्रतिस्पर्धा गर्न नसकिरहेको बताए । यसले उपभोक्ताले पनि कमसल समान खरिद गरिरहेको समेत उनको तर्क छ ।
धनगढीका व्यावसायीहरुले व्याट्रीमा मात्रै वार्षिक ५० करोडको कारोबार गरिरहेका छन । त्यसबाट प्राप्त हुने करिब ९ करोड राजस्व गुमिरहदा तस्करीमा संलग्न व्यावसायी, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका केही सीमित व्यक्ति भने मोटाउदै गएका छन् । धनगढीमा रहेका भारतीय मुलका व्यापारीले सबभन्दा बढि तस्करी गर्ने गरेको स्रोतको दाबि छ ।
हसुलिया र टीकापुर नाकाबाट ब्याट्रीको बढि तस्करी हुदै आएको छ भने तस्करले धनगढीको २ नम्बर नाका, रामपुर, हसुलिया बंगा्र, घुईयाघाट लगायतका नाका प्रयोग गर्दै आएका छन् । तर, यस्ता गतिविधी रोक्ने जिम्मेवारी पाएको भन्सार कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी भने तस्करलाई सघाउदै उनीहरुबाट महिनावारी असुल्दै आएको आरोप नौलो होईन । आखिर रक्षक नै भक्षक कहिले सम्म बन्ने ?