सुदूर नेपाललाई विश्वसँग जोड्दै

संविधानको धारासहित बझाङबाट प्रधानमन्त्रीलाई विरोध पत्र

२०७७ पुष २४, ०४:५७ खबर संवाददाता

बझाङ: बझाङबाट संविधानको धारासहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र पठाइएको छ।

नेकपा प्रचण्ड–माधव समूह निकटको राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू जिल्ला कमिटीले प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीमार्फत् विरोध पत्र पठाएका हुन्।

युवा संघका संयोजक विनोदबहादुर सिंह र अनेरास्ववियूका सह–संयोजक देविजंग बहादुर सिंहद्वारा हस्ताक्षरित विरोध पत्रमा प्रधानमन्त्री ओलीलाई आफ्नो असंवैधानिक कदममाथि पश्चातापका साथ राष्ट्रका सामु क्षमा याचना गर्दै प्रतिनिधिसभा पुनः सुचारु गरी संविधानलाई क्रियाशील बनाउन अनुरोध गरिएको छ। 

संविधानले प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभा विघटन गर्ने कुनै पनि अधिकार नदिएकाले संविधानको धारा पुनः अध्ययन गर्नका लागि संविधानको धारा समेत विरोध पत्रसँगै पठाइएको छ। 

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरे यता नेकपा प्रचण्ड–माधव समूहले विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेको छ। सोहीअनुसार प्रशासनमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र पठाइएको हो।

कार्यकर्ताहरु चैनपुरबजारबाट नाराबाजी गर्दै विरोध पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेका थिए। 
 

कमेन्ट लोड गर्नुस