बैतडीमा बलात्कार घटना मिलाउने ५ जना धरौटीमा रिहा, मुख्य आरोपी कहाँ छन् ?
बैतडीः बैतडीको सिगास गाउँपालिका–३ की १८ वर्षीया किशोरी बलात्कार प्रकरणमा पक्राउ परेका ओरोपीहरु धरौटीमा रिहा भएका छन्।
बुधबार जिल्ला अदालत बैतडीमा भएको थुनछेक बहसपछि पक्राउ परेका ६ जना मध्ये ५ जना ५०/५० हजार धरौटीमा रिहा भएका छन् भने एक जनालाई साधारण तारेखमा छाडिएको छ।
अदालतका श्रेस्तेदार जनक सिह बोहराले प्रतिवादी अमरसिह धामी, मनोज सिह धामी, राजेन्द्र सिह धामी, नरबहादुर धामी र शेरसिह साउदलाई जनही ५०/५० हजार धरौटीमा छाड्ने फैसला भएको बताए। यस्तै अर्का एक जनालाई साधारण तारेखमा रिहा गरिएको उनले बताए।
सिगास गाउँपालिका वडा नम्बर ३ मा १८ वर्षीया युवतीमाथि गत जेठ २३ गते जबरजस्तीकरणी गरिएको थियो। सो घटनालाई गाउँमै मिलापत्र गराउँदै अगुवाहरुले पीडक पक्षले युवतीलाई १ तोला सुन दिने सहमती गराएका थिए।
तर पीडकले सुन नदिएपछि घटना बाहिरिएको थियो। बलात्कारमा संलग्न भनिएका मुख्य आरोपी स्थानीय दिपकसिह धामी अहिले फरार छन्।
उनको खोजी कार्य चलिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले बताए।
‘मुख्य आरोपी भारतमा लुकेर बसेका छन् भन्ने सूचनाका आधारमा दुईपटक प्रहरी पठाइसकेका छौं। उसले काम गर्ने स्थानमा समेत प्रहरी पुगेको थियो तर अत्तोपत्तो लागेन’ उनले भने।
सम्बन्धित समाचार :
बैतडीमा किशोरीको इज्जतको मोल १ तोला सुन ! ६ महिनापछि बाहिरियो बलात्कार घटना
सुदूरपश्चिम प्रहरीले भन्यो– बलात्कारको घटना मिलाउनेमाथि पनि कारबाही
बैतडीमा युवती बलात्कार गर्नेसहित मिलापत्र गराउने ४ जना विरुद्ध जाहेरी, २ जना पक्राउ
बैतडीमा बलात्कारमा मिलापत्र प्रकरणः वडाध्यक्षसहित थप ४ जना पक्राउ
बैतडीमा बलात्कार घटना मिलापत्र गराउने ६ जनामाथि मुद्दा