सुदूर नेपाललाई विश्वसँग जोड्दै

हनुमानढोका क्षेत्रमा आउन थाले पर्यटक

। फोटो स्रोत ।
२०७७ पुष ८, ११:२१ रासस

काठमाडौँ : आठ महिनापछि हनुमानढोका क्षेत्रमा क्रमिकरूपमा पर्यटक आउन थालेका छन् । 

विश्वभरि फैलिएको कोरोना भाइरस सङ्क्रमण त्रासका कारण गत चैतको पहिलो सातादेखि अवलोकनका लागि पूर्णरूपमा बन्द रहेको हनुमानढोका खुला भएसँगै आन्तरिक र बाह्य पर्यटक आउन थालेका हुन् । यहाँ अहिले दैनिक १०० पर्यटक आउने गरेका छन् । आन्तरिकको तुलनामा बाह्य पर्यटक कम छन् । 

हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालका अनुसार हरेक दिन आगन्तुकहरु आउने क्रम बढेको छ । गत मङ्सिर ३ गतेबाट पुनः सञ्चालनमा आएको वसन्तपुर क्षेत्रमा विद्यालय सञ्चालनमा नआएकाले आन्तरिक पर्यटक पनि अपेक्षाअनुरुप आएका छैनन् । 

यहाँ अवलोककर्ताको प्रवेश शुल्कबाट नै वार्षिक करिब १२ करोड रुपैयाँसम्म असुल हुने गरेको थियो । प्रवेशका लागि विदेशीलाई रु एक हजार र नेपालीका लागि भने ३० रुपैयाँ निर्धारण गरिएको छ । राणाकालीन र मल्लकालीन वस्तुकला नै मुख्य आकषर्णको केन्द्र बनेको वसन्तपुर क्षेत्रमा भूकम्पका कारण पूर्णरूपमा क्षति भएको ऐतिहासिक सम्पदाको पुनःनिर्माणको काम पनि भइरहेको छ ।

अड्डाले गद्दी बैठक पनि अवलोकनकर्ताका लागि खुला गर्ने तयारीे रहेको बताएको छ । भूकम्पकै कारण भत्किएको गद्दी बैठकको पुनःनिर्माण काम सम्पन्न भइसकेको छ । वसन्तपुरको प्रमुख सम्पदाको रूपमा रहेको काष्ठमाण्डप पनि आगामी वैशाखमा पुनःनिर्माण सम्पन्न हुने गरी निर्माणको काम अघि बढिरहेको छ । 

कोरोनाकै कारण केही समय पुनःनिर्माणको काममा बाधा आएपनि पछिल्लो समय तीव्ररूपमा काम भइरहेको छ ।

कमेन्ट लोड गर्नुस