सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका प्रदेश सांसदद्वारा दिनेशकर्मीलाई कुटपिट गर्ने धम्की

फोटोमा क्रमशः बायाँ प्रदेशसभा सदस्य नेपालु चौधरी र दायाँ नेकपाको धनगढी उपमहानगरपालिकाको सचिवालय सदस्य बताउने रामचन्द्र चौधरी
फोटोमा क्रमशः बायाँ प्रदेशसभा सदस्य नेपालु चौधरी र दायाँ नेकपाको धनगढी उपमहानगरपालिकाको सचिवालय सदस्य बताउने रामचन्द्र चौधरी
२०७७ मंसिर २६, ०७:२८ खबर संवाददाता

धनगढी: धनगढीः सुदूरपश्चिम प्रदेशसभा सदस्य नेपालु चौधरीको पूर्वाधार विकास कार्यक्रममा भएका बेतिथिबारे जनगुनासा समेटिएको समाचार लेखेपछि दिनेशखबरकर्मीलाई गालीगलौच गर्दै कुटपिट गर्ने धम्की दिइएको छ। 

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ (क) बाट निर्वाचित नेकपाका प्रदेशसभा सदस्य चौधरी र उनका सहयोगीले दिनेशखबरका संवाददाता नारायण अवस्थीलाई शुक्रबार अपराह्न टेलिफोन गर्दै कुटपिट गर्ने धम्की दिएका हुन्। 

आफूलाई नेकपा धनगढी नगर कमिटि सचिवालय सदस्य समेत बताउने रामचन्द्र चौधरीले अवस्थीलाई टेलिफोन गरी अपशब्द प्रयोग गर्दै धम्की दिएका हुन्। 

त्यस्तै प्रदेशसभा सदस्य चौधरीलाई अवस्थीले आफूलाई दिइएको धम्कीबारे जानकारी गराउन खोज्दा उल्टै गलत समाचार लेखेको भन्दै पत्रकारलाई कुटनु जायज भएको प्रतिक्रिया दिए। 

उनले पत्रकार कस्ता हुन्छन् भनी आफूले पनि चिनेको र पत्रकारले आफूले भनेअनुसार समाचार नलेखेको भन्दै धम्क्याएका हुन्। 

मंसिर २४ गते प्रदेश सभा सदस्य नेपालु चौधरीको पूर्वाधार विकास कार्यक्रम अन्तरगत कार्यान्वयन भएका योजनामा काम नगरी भुक्तानी दिएको बारेमा दिनेश एफएमबाट समाचार प्रशारण भएको थियो। 

मंसिर २५ गते कैलालीका सांसद चौधरीको क्षेत्रमा मनपरी कागजमा काम देखाएर भुक्तानी दिएको आरोप शिर्षकको समाचार दिनेशखबरमा समेत प्रकाशित भएको थियो। 

सो समाचारमा  गत वर्ष चौधरीको पूर्वाधार विकास कार्यक्रम अन्तरगत धनगढी उपमहानगरपालिका–१४ सी गाउँमा कार्यान्वयन भएको प्राकृतिक ताल संरक्षण योजनामा ५ लाख बजेट छुट्याएपनि चालु वर्षसम्म समेत काम नभएको भेटिएको थियो। 

तर उपभोक्ता समितिले भुक्तानी लिइसकेको जनाएको थियो। सो विषयमा प्रतिक्रिया माग्न खोज्दा सांसद चौधरीले सोही दिन आफूले स्थलगत निरीक्षणपछि मात्र प्रतिक्रिया दिने बताएका थिए।

सांसद चौधरीको सो भनाईलाई समेत समाचारमा स्थान दिइएको थियो। दिनेशखबरकर्मी अवस्थीलाई कुटपिट गर्ने धम्की दिएको बारेमा स्थानीय प्रशासनलाई जानकारी गराईसकेको छ भने उनीहरु विरुद्ध कानुनी उपचारमा जाने तयारी गरेको छ।  

सम्बन्धित समाचार 

कैलालीका सांसद चौधरीको क्षेत्रमा 'मनपरी', कागजमा 'काम' देखाएर भुक्तानी दिएको आरोप

कमेन्ट लोड गर्नुस