कैलालीका सांसद चौधरीको क्षेत्रमा 'मनपरी', कागजमा 'काम' देखाएर भुक्तानी दिएको आरोप
धनगढीः कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश ‘क’ का निर्वाचित प्रदेशसभा सदस्य नेपालु चौधरीको पूर्वाधार विकास कार्यक्रम अन्तरगत गत वर्ष प्राकृतिक ताल मर्मत सम्भारको योजना छनोट भएको छ।
धनगढी उप–महानगरपालिका–१४ सी गाउँमा छनोटमा परेका प्राकृतिक तालको मर्मत सम्भारको योजनाका लागि ५ लाख रुपैयाँ बजेट छुट्याइएको थियो।
सो योजना प्रगतिशिल महिला कृषक समुहबाट कार्यान्वयन भएको देखाउँदै गत वर्ष नै भुक्तानी दिइएको छ। तर वास्तविकता भने फरक छ।
प्राकृतिक ताल भनिएको हरियाली सामुदायिक वनमा ताल छैन्। खल्लालाई तालको उपमा दिदै योजना पारेको देखिन्छ भने त्यहाँ अहिलेसम्म कुनै काम भएको छैन्। प्राकृतिक भनिएको तालमा पानी समेत छैन्।
स्थानीयको भनाईमा सो ठाउँमा अहिले सम्म कुनै काम नै भएको छैन्। बरु खल्लालाई तालको संज्ञा दिदै फर्जी योजना बनाउँदै कुनै काम नगरी भुक्तानी लिएको आरोप स्थानीयको छ।
प्रगतिशिल महिला कृषक समुहकी अध्यक्ष नाथुदेवी चौधरी भने ताल मर्मत सम्भार गरी पूर्वाधार विकास कार्यालयबाट ४ लाख ५१ हजार भुक्तानी लिइसकेको बताउँछिन्।
यस्तै प्रदेशसभा सदस्य चौधरीकै प्रदेश पूर्वाधार विकास कार्यक्रममा छनोट भएको सूचना प्रविधि प्रयोगशाला स्थापनाको योजना समेत अधुरै रहेको पाईएको छ।
फूलबारीमा रहेको चन्द्रोदय माध्यमिक विद्यालयले आइसीटी प्रयोगशालाका लागि मात्र २० लाख रुपैयाँ बजेट पाएकोमा अहिलेसम्म प्रयोगशाला स्थापनाको काम सकिएको छैन्।
२० लाख बजेटमा विद्यालयले ५ ल्यापटप र ३ डेस्कटप कम्प्यूटरका साथै २ स्मार्ट बोर्ड, १६ सीसीटीभी क्यामरा र एक प्रिन्टर खरिद गरेको विद्यालयका प्रधानाध्यापक शुभचन्द्र सुबेदीले बताए।
तर आइसीटी प्रयोगशालाका लागि खरिद गर्नुपर्ने सबै सामान अहिले सम्म खरिद नभएको बताइएको छ।
ताल संरक्षणका लागि ५ लाखको बजेटमा निर्माण गरिएको बार
यी दुईवटा प्रतिनिधिमुलक उदाहरण मात्र भएपनि प्रदेशसभा सदस्य चौधरीको निर्वाचन क्षेत्रमा ३ करोडको पूर्वाधार विकास कार्यक्रम अन्तरगत गतवर्ष छनोट भएका धेरै योजनाको हविगत यस्तै रहेको गुनासो गरिएको छ।
कतिपय योजनामा काम नगर्दै पूर्ण बजेट भुक्तानी दिइएको छ भने कतिपय योजनामा अहिले काम भएपनि अधुरै रहेको छ।
तर चौधरीसँग उक्त विषयमा प्रतिक्रिया माग्न खोज्दा उनले प्रतिक्रिया दिन अस्वीकार गरे। स्थलगत निरीक्षणपछि मात्र प्रतिक्रिया दिने बताए।
गत वर्ष पूर्वाधार कार्यक्रम अन्तरगत चौधरीको निर्वाचन क्षेत्रमा विभिन्न १९ वटा योजना छनोट भएको पाइएको छ।
जसमा धनगढी उप–महानगरपालिका–७ मा १० लाख रुपैयाँको बाटो निर्माणको योजना, धनगढी–१० मा १०/१० लाख रुपैयाँका गेट निर्माण र होरीलाल प्रतिष्ठानको अधुरो भवन निर्माणको योजना छनोट भएका छन्।
यस्तै धनगढी–१४ मा १०/१० लाख रुपैयाँका २ र ५/५ लाख रुपैयाँका २ गरी ३० लाखका ४ वटा योजना, धनगढी–१६ मा १५/१५ लाख रुपैयाँका २ योजना, धनगढी–१७ मा २० लाख रुपैयाँको एउटा, धनगढी– १८ मा २०/२० लाखका २ योजना छनोट भएका छन्।
धनगढी उपमहानगरपालिका– १९ मा ६५ लाख रुपैयाँ बराबरका ३ योजना, कैलारी गाउँपालिका–६ मा २५ लाख रुपैयाँ बजेटको एउटा र कैलारी गाउँपालिका– ९ मा रुपैयाँ बजेटका ३ योजना छनोट गरिएका छन्।
चौधरीकै निर्वाचन क्षेत्र पर्ने धनगढी उपमहानगरपालिकाका वडा नम्बर ८, ९, १२ र १५ एउटा योजना पनि हालिएको छैन्।
सबैभन्दा बढी बजेट चौधरीकै बसोबास रहेको १९ नम्बर वडामा परेको छ। तर ती योजनामा समेत विनियोजित बजेट अनुसार काम भएको छैन्।
सांसद चौधरीले पूर्वाधार विकासको कार्यक्रमलाई कार्यकर्ता पोस्ने माध्यम बनाएको नेपाली काँग्रेसका क्षेत्रीय सचिव भिम पडालले आरोप लगाए।
उनले चौधरीले पूर्व एमालेको पकड भएको स्थानमा कनिका छरेझै योजना बाडेर मनपरी गरिएको बताए।
पूर्वाधार विकासका कार्यक्रम अन्तरगत कार्यान्वयन भएका योजनामा व्यापक अनियमितता भइरहेका बेला प्रदेश सरकार भने त्यसबारे बेखबर रहेको पाइएको छ।
प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पूर्वाधारका योजना कार्यान्वयनको अवस्था बारे जानकार नभएको पाइएको हो।
तर कार्यकर्तामुखी बनेको आरोप लागेको पूर्वाधार विकास कार्यक्रममा सांसदहरुले मनोमानी गर्दै राज्यकोषको दुरुपयोग गर्ने क्रम बढेको गुनासो गरिएको छ।