दार्चुलामा १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारी अन्तिम चरणमा
दार्चुला: १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी दार्चुलामा अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता शनिबारदेखि सदरमुकाम खलङ्गास्थित शिवनगर खेलमैदानमा सुरु हुने भएको हो ।
जिल्लाका नौवटै स्थानीय तह प्रतियोगिताको व्यवस्थापन तथा प्रशिक्षण कार्यमा सक्रिय रूपमा जुटिरहेका छन् । पालिका स्तरीय छनोट प्रतियोगिताबाट उत्कृष्ट ठहरिएका छात्र तथा छात्रा खेलाडीहरूले यस प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
जिल्लाका सबै स्थानीय तहमा पालिका स्तरीय छनोट प्रतियोगिता सम्पन्न भइसकेको जिल्ला खेलकुद समितिले जनाएको छ ।
प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, कराते र तेक्वान्दो लगायतका खेल विधामा अन्तरपालिका स्तरीय प्रतिस्पर्धा हुने छ ।
जिल्ला खेलकुद समितिका अनुसार प्रतियोगिता जेठ २, ३ र ४ गतेसम्म सञ्चालन हुनेछ।