सुदूर नेपाललाई विश्वसँग जोड्दै

८ घण्टासम्म सम्पर्कविहीन भएका डिएसपी चौधरी निलम्बित

२०७७ मंसिर १७, ०३:२२ खबर संवाददाता

धनगढीः गत मंगलबार राति सम्पर्कविहीन भएका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक भरतबहादुर चौधरी निलम्बनमा परेका छन्।

माथिल्लो निकायलाई कुनै जानकारी समेत नदिएर सम्पर्कविहीन भएका चौधरीलाई गृह  मन्त्रालयले छानविनका लागि निलम्बन गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले मंसिर १२ गतेको गृह मन्त्रालयको निर्णयअनुसार प्रहरी नायब उपरीक्षक चौधरीलाई निलम्बन गरिएको जानकारी दिए। 

छानबिनका लागि निलम्बनमा परेका चौधरी दोषी देखिए प्रहरी सेवा ऐनअनुसार उनीमाथि कारवाही हुने प्रहरीले जनाएको छ। 

छानबिन समितिले प्रतिवेदन बुझायो

यसैबीच, प्रहरी नायब उपरीक्षक चौधरीमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ। 

चौधरीमाथि छानबिन गर्न सुदूरपश्चिम प्रदेश दंगा नियन्त्रण गण कञ्चनपुरका प्रहरी उपरीक्षक दिलिप देउवाको संयोजकत्वमा गठित समितिले प्रतिवेदन बुझाएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सिहले बताए। 

उनले अध्ययनकै क्रममा रहेकाले प्रतिवेदनमा उल्लेख गरिएका कुरा सार्वजनिक गर्न नमिल्ने बताए। 

के थियो घटना ? 

गत मंसिर ९ गते राति ९ बजेपछि  प्रहरी नायब उपरीक्षक चौधरी माथिल्लो निकायलाई जानकारी नदिएर सम्पर्कविहीन भएका थिए। 

राति नै उनको खोजीका लागि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।  

कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टको नेतृत्वमा चौधरीको खोजीका लागि राति नै टोली खटाईयो भने प्रदेश प्रहरी कार्यालयबाट समेत छुट्टाछुट्टै टोली परिचालन गरिएको थियो।  

तर मंसिर १० गते  चौधरी बुढीतोलामा सकुसल फेला परेका थिए। तर चौधरीले सूचना संकलन गर्न आफू त्यहाँ गएका बेला नेटवर्कको समस्याले सम्पर्क विच्छेद हुन पुगेको बताएका छन्। 

सम्बन्धित समाचार 

कैलालीका डिएसपी चौधरीले खुलाए आफू सम्पर्कविहीन हुनुको रहस्य

कैलालीका डिएसपी चौधरी ८ घण्टासम्म सम्पर्कविहीन भएपछि ...

मालाखेतीका डिएसपी जिल्ला तानिए, कारवाहीका लागि सिफारिस गरिने

कैलालीका डिएसपी चौधरीमाथि छानविन गर्न एसपीको संयोजकत्वमा समिति गठन


 

कमेन्ट लोड गर्नुस