कैलालीका डिएसपी चौधरीले खुलाए आफू सम्पर्कविहीन हुनुको रहस्य
धनगढीः कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक भरतबहादुर चौधरीले आफू सम्पर्कविहीन हुनुको रहस्य दिनेशखबरसँग खुलाएका छन।
मंगलबार राति ९ बजेपछि सम्पर्कविहीन भएका प्रहरी नायब उपरीक्षक चौधरीले आफू ‘अपराध अनुसन्धानसँग जोडिएको सूचना संकलनका लागि’ बुढीतोला क्षेत्रमा गएको भएपनि ‘टेलिफोनको नेटवर्कको समस्याले’ सम्पर्क विच्छेद भएको दिनेशखबरलाई बताए।
‘म मंगलबार राति सूचना संकलनका क्रममा आफ्नो कार्यक्षेत्रमै खटिएको थिएँ। तर नेटवर्कको समस्याले सम्पर्क बाहिर जान पुगेछु,’ चौधरीले दिनेशखबरसँग भने।
सूचना संकलन गर्न एक्लै निस्किनुको कारण के थियो ? भन्ने प्रश्नमा चौधरी भन्छन्, ‘कतिपय अवस्थामा जोखिमलाई ध्यानमा राखेर एक्लै पनि जानुपर्ने हुन्छ। हाम्रो विभागले नै सम्भावित जोखिमलाई ध्यान दिएर सोही अनुसार गर्न गराउन निर्देशन दिएको छ।’
तर के विषयको सूचना थियो भन्ने कुरा खुलाउन नमिल्ने चौधरीको भनाइ छ।
चौधरी गएराति ९ बजेदेखि सम्पर्कविहीन भएपछि कैलाली प्रहरीले उनको खोजी गरेको थियो। उनी बुधबार बिहान गोदावरी नगरपालिकाको बुढीतोलामा भेटिएका थिए।
जिल्ला प्रहरी कार्यालयले भने सम्पर्कविहीन भएको भन्दै चौधरीलाई सोधपुछका लागि जिल्ला तानेको छ।
उनीलाई सोधपुछ गर्ने काम भइरहेकाले कारवाहीका लागि माथिल्लो निकायलाई सिफारिस गरिने जनाएको छ।
उनी गएको स्थान बुढीतोला अत्तरियाबाट करिब २५ किलोमिटर उत्तरतिर पहाडमा अवस्थित छ।
उनी सम्पर्कविहीन भएपछि प्रहरी अधिकारीहरु चिन्तित भएका थिए भने जिल्लाभर उनको स्थितीबारे अनेक अडकलबाजी गरिएका थिए।
सम्बन्धित समाचार
कैलालीका डिएसपी चौधरी ८ घण्टासम्म सम्पर्कविहीन भएपछि ...
मालाखेतीका डिएसपी जिल्ला तानिए, कारवाहीका लागि सिफारिस गरिने