प्रधानमन्त्रीको अनुपस्थितिले राज्य व्यवस्था समिति अनिर्णयको बन्दी बन्याेः नेता आङ्देम्बे
काठमाण्डाै: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका कारण राज्य व्यवस्था तथा सुशासन समितिको काम कारबाही ठप्प भएको आरोप लगाएको छ ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले गृह मन्त्रालय सम्हाल्ने मन्त्री वा प्रधानमन्त्रीको अनुपस्थितिका कारण समितिको बैठक बस्न नसकेको बताउका हुन्। प्रतिनिधिसभाको आजकाे बैठकमा उनले देशमा विकसित पछिल्ला दर्दनाक घटनाहरूका विषयमा संसदमा प्रश्न उठाउनुपर्ने अवस्था रहे पनि सम्बन्धित मन्त्रीको अभावमा समिति अनिर्णयको बन्दी बनेको उल्लेख गरे।
समितिका सभापतिले बैठकका लागि पटक–पटक आग्रह गरे पनि सम्बन्धित मन्त्रालयको नेतृत्व नहुँदा आफूहरू सहभागी हुन नसकेको कांग्रेस संसदीय दलका नेता आङ्देम्बेकाे भनाइ छ । प्रधानमन्त्रीको कार्यव्यस्तता र अनुपस्थितिले समितिको बैठकमा अवरोध सिर्जना भएको भन्दै उनले सरकारको संवेदनशीलतामाथि प्रश्न उठाए।
एउटा महत्त्वपूर्ण मन्त्रालयमा मन्त्रीसमेत नियुक्त गर्न नसक्ने सरकारले नागरिकका गम्भीर समस्या र जिम्मेवारीलाई कसरी सम्बोधन गर्छ भन्दै उनले सरकारको आलोचना गरे।
उनले भने, ‘देशमा घटेका विभिन्न घटनाका सम्बन्धमा हामीले समितिमा प्रश्न उठाउनुपर्नेछ तर जवाफ दिने मन्त्री नै हुनुहुन्न । यदि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै छ भने उहाँ आफैँ समितिमा उपस्थित हुनुपर्याे, अन्यथा तत्काल गृहमन्त्री नियुक्त गरिनुपर्छ ।’
सांसदहरूले राखेको चासोमा नागरिकको अभिव्यक्ति लुकेको हुने चर्चा गर्दै नेता आङ्देम्बेले समितिलाई बन्धक नबनाई तत्काल निकास दिन सरकार र सत्तारुढ दलको ध्यानाकर्षण गराए।