सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोहना आर्यघाट निर्माण प्रभावित हुनुको कारण यस्तो छ

डिजाइन इस्टिमेट, तस्बिर: धनगढी उपमहानगरपालिका
डिजाइन इस्टिमेट, तस्बिर: धनगढी उपमहानगरपालिका
२०७७ मंसिर ९, ०२:१६ नारायण अवस्थी

धनगढी: ढुङ्गा, बालुवा उत्खनन तथा आपूर्ति रोकिएकोले कैलालीको धनगढीमा निर्माधिन मोहना आर्यघाट निर्माणमा सामग्री अभाव भएको छ ।

तर नदीजन्य निर्माण सामग्री आपूर्ति सहज भए काम समयमैँ पूरा गर्न सकिने निर्माण व्यवसायीको भनाइ छ।     

ढुंगा, गिट्टी, बालुवाजस्ता नदीजन्य निर्माण सामग्रीको अभाव भएकोले निर्माण कार्यमा ढिलाइ भएको बताइएको छ । 

टीडीआर कन्स्ट्रक्सन प्रालीका प्रतिनिधि आसबहादुर गुरुङले नदीजन्य पदार्थ उत्खनन गर्नमा ढिलाइ भएपछि काम गर्न नसकेको बताए ।  

गुरुङ भन्छन् ‘सबैले निर्माण कम्पनीले काम गरेनन् मात्रै भन्छन् । तर काम हुन नदिने कारण के–के हुन्? त्योबारे चासो राख्दैनन् । नदी खोला बन्द भएकोले निर्माण सामग्रीको चरम अभाव छ । हातखुट्टा बाँधेर दगुर भन्न मिल्छ ?’

धनगढी उपमहानगरपालिका वडा न. ९ स्थित मोहना त्रिवेणी घाटमा आर्यघाट निर्माणको लागि उपमहानगरपालिका र टीडीआर कन्स्ट्रक्सन प्रालिबीच २०७६ असार १९ मा सम्झौता भएको छ । जसको लागत २ करोड ३८ लाख रुपियाँ रहेको छ । 

सम्झौता अनुसार निर्माण कम्पनीले २०७८ जेठ मसान्तसम्म काम सम्पन्न गर्नु पर्नेछ । तर नदीजन्य सामग्रीको अभावले काममा समस्या भएको निर्माण व्यवसायीको दाबी छ ।

यसअघि स्थानीयवासीको विरोधले आर्यघाट निर्माण पछाडि धकेलिएको थियो । 

धनगढी उपमहानगरपालिकाका इन्जिनीयर उपेन्द्र भट्टले दिनेशखबरसँग भने ‘पहिला उपमहानगरपालिकाको वडा न. ३ मा आर्यघाट निर्माण गर्न डीपीआर तयार भएपनि स्थानीयको विरोधपछि वडा न.९ को त्रिवेणीघाटमा सार्नु पर्दा निर्माणमा ढिलाइ हुन गएको हो, निर्माण सामग्रीको सहज आपूर्ति भए समयमै काम सम्पन्न हुनेछ ।’

धनगढी उपमहानगरपालिका प्रवक्ता सन्तोष मुडभरीले संघीय सरकारको परिपत्रका कारण ढुङ्गा, गिट्टी, वालुवाको ठेक्का दिन नसकेको बताए । जुनकारण विकास निर्माण प्रभावित भएको उनको भनाइ छ । 
उनले भने, ‘स्थानीय प्रशासनबाट माग र मौज्दातको अवस्थाबारे अध्ययन भइरहेको छ । छिट्टै नदी खोलाको टेन्डर हुनेछ । टेन्डर हुन नसकेको विषयमा स्थानीय सरकार गम्भीर छ ।’ 

यस्तो बन्दैछ आर्यघाट
एक बिघा क्षेत्रफलमा निर्माणाधिन आर्यघाटमा ३ कोठा भएको २ तल्ले किरियापुत्री भवन बन्ने भएको छ ।

छानासहितको ३ र छानारहित ३ गरी ६ वटा शव दहन स्थल निर्माण हुने बताइएको छ । 

१ वटा दाउरा भण्डार गृह, १ वटा शौचालय, प्रतिक्षालय, पानीको लागि डीप बोरिङ समेत जडान हुने भएको छ । 

तर सय मिटर तटबन्ध र किरिया पुत्री बस्ने घरको पहिलो तल्ला ढलान बाहेक अन्य निर्माणको काम भने हुन सकेको छैन । 

समयमैँ आर्यघाट निर्माण भए बाह्रै महिना शव दहन गर्न स्थानीयवासीलाई सहज हुने अपेक्षा गरिएको छ। किनभने अहिले व्यवस्थित आर्यघाटको अभावमा स्थानीयवासी शव दाह स्थलको खोजीमा विभिन्न नदी किनारमा भौँतारिन बाध्य छन्। 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस