धनगढीमा २२ राजनीतिक दलद्वारा सरकार विरुद्ध प्रदर्शन
धनगढी: धनगढीमा विभिन्न २२ वटा राजनीतिक संगठनले सरकार विरुद्ध जुलुस निकालेर प्रदर्शन गरेका छन् ।
राष्ट्रिय जनमोर्चा, नेकपा(क्रान्तिकारी माओवादी), नेकपा मसाल, समाजवादी राष्ट्रिय मञ्च नेपाल, नयाँ नेपाल पार्टी लगायतका २२ राजनीतिक संगठनले आइतबार सरकार विरुद्ध प्रदर्शन गरेका हुन् ।
पार्कमोडदेखि सुरु भएको उक्त जुलुस चौराहामा पुगेर कोणसभामा परिणत भएको थियो । एमसीसी सम्झौता, कालापानी लिपुलेक लगायतका क्षेत्रको अतिक्रमण, कालोबजारी तथा महंगी र कोरोना महामारीका बेला सरकारले देखाएको उदासिनताको बिरोध गरेको राष्ट्रिय नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य हरिश सुवेदीले बताए ।
प्रदर्शनकारीहरुले ‘एमसीसीको खारेज गर’, ‘लिपुलेक लिम्पियाधुरा कालापानी हाम्रो हो’, ‘भारतीय सेना कालापानी छोड’, ‘भ्रष्टाचार कालोबजारी महँगी नियन्त्रण गर’ लगायतका प्लेकार्ड बोकेका थिए ।