सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसईईको नतिजामा सुधार, ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ वैशाख २९, ०७:४४ खबर संवाददाता

काठमाण्डौ: एसईईको नतिजा सार्वजनिक भएको छ । परीक्षा सकिएको २९ दिनमा हिजो नतिजा सार्वजनिक भएको हो । यसपालि एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । पोहोर ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

परीक्षामा दुई लाख ८४ हजार १ सय ६० विद्यार्थी ग्रेडेड र एक लाख ४६ हजार ५ सय ७ परीक्षार्थी ननग्रेडेड भएका छन् । सार्वजनिक नतिजाअनुसार ४८ हजार ३ सय ९२ परीक्षार्थीले सबैभन्दा उच्च जिपिए अर्थात् तीन दशमलव ६० देखि चार ल्याएका छन् भने ८० हजार ३ सय ७२ जनाले तीन दशमलव २० देखि तीन दशमलव ६० जिपिए ल्याएका छन् ।

त्यस्तै, ९४ हजार २ सय २२ जनाले दुई दशमलव ८० देखि तीन दशमलव २० जिपिए, ५५ हजार ९ सय ७७ जनाले दुई दशमलव ४० देखि दुई दशमलव ८० जिपीए,  पाँच हजार १ सय ९० जनाले दुईदेखि दुई दशमलव ४० जिपिए र सात जनाले एक दशमलव ६० देखि दुई जिपिए ल्याएका छन् ।

ननग्रेडेड (एनजी) प्राप्त गर्ने विद्यार्थीहरूले पुनःग्रेड वृद्धि परीक्षा दिन पाउँछन् । दुई विषयसम्म एनजी आउने विद्यार्थीका लागि तत्कालै ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यसवर्ष एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने शिक्षा मन्त्रालयको निर्देशनपछि बोर्डले परीक्षा केन्द्रमा उत्तरपुस्तिका परीक्षण गराएको थियो ।

वैशाख ५ गतेसम्ममा देशैभरबाट उत्तरपुस्तिका बोर्डको कार्यालयमा सङ्कलन गरी नतिजा अध्यावधिक गर्ने, कम्प्युटरमा प्रविष्ट गराउने काम थालिएको थियो । 

कमेन्ट लोड गर्नुस