कैलालीमा भूमिहीनलाई लालपुर्जा वितरण प्रक्रिया पछाडि धकेलियो
धनगढी: कैलालीमा भूमिहीनलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया लम्बिने भएको छ। स्थानीय तहहरूले आवश्यक काम समयमै पूरा गर्न नसक्दा कात्तिक मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्य पूरा नहुने देखिएको हो।
जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्षसमेत रहेका कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार स्थानीय तहको काम बाँकी रहेकाले लालपुर्जा वितरणको प्रक्रिया मंसिरसम्म लम्बिने भएको छ।
‘हामीले कात्तिक मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्य राखेका थियौँ। तर, पालिकाहरूको काम नसकिएकाले अब मंसिरसम्म पुग्ने देखिन्छ,’ उनले भने।
उनका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा भूमिहीनसम्बन्धी कामको प्रगति फरक–फरक छ। कुनै पालिकामा आधा मात्रै काम सम्पन्न भएको छ भने कुनैमा थोरै काम बाँकी छ। केही पालिकामा भने आवश्यक काम सम्पन्न भइसकेको छ।
स्थानीय तहहरूले आफ्नो जिम्मेवारीअन्तर्गतका काम पूरा गरी आवश्यक कागजात र विवरण जिल्लामा पठाएपछि मात्रै लालपुर्जा वितरणका लागि थप प्रक्रिया अघि बढाइने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।