सुदूर नेपाललाई विश्वसँग जोड्दै

इन्सेकद्वारा पत्रकारमाथि कुटपिट गर्नेलाई कारवाही गर्न माग

२०७७ भदौ २८, १२:०३ खबर संवाददाता

धनगढी : इन्सेकले पत्रकारमाथि कुटपिट गर्नेलाई कारवाही गर्न माग गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने शीर्षकमा दिनेश खबरले प्रकाशन गरेको समाचार झुठो भएको र डिलिट गर्नु पर्ने भन्दै पत्रकारमाथि कुटपिट गर्ने कारबाही गर्न माग गरिएको हो। भदौ २६ गते दिउँसो दिनेश संञ्चार गृहको कार्यालयमा पुगेका १५–२० जनाको समुहले गृहका सह–सम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए।

यस्तै व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहलाई पनि हातपात तथा दुर्व्यवहार भएको थियो। दिनेश सञ्चार गृहमाथि साङ्घातिक आक्रमण गरी पत्रकारमाथि गरिएको कुटपिट घटनाप्रति गम्भिर ध्यानकर्षण भएको ईन्सेकले जनाएको छ। इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयले प्रेश विज्ञप्ति जारी गरी घटनाको निन्दा तथा भत्र्सना गरेको  छ।

ईन्सेकका प्रदेश प्रमुख खड्कराज जोशीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘समाचारका विषयमा बिमती भए त्यसको समाधानका लागि कानुनी बाटो अवलम्बन गर्नु पर्नेमा सञ्चार गृहमा साङ्घातिक आक्रमण गरी पत्रकारमाथि कुटपिट तथा हातपात गर्नु कानुनको अवहेलना गरिएको हाम्रो ठहर छ।

यस निन्दनिय र आपत्तीजनक कार्यको इन्सेक घोर निन्दा तथा भत्र्सना गर्दछ।’ घटनामा सङ्लग्न जोकोही भएपनि तत्काल कानुनी दायरामा ल्याई कारबाही गर्न तथा सञ्चार गृह र पत्रकारहरुको सुरक्षाको प्रत्यभुती गर्न सरकार तथा सम्बन्धीत पक्षसँग इन्सेकले माग गरेको छ।

प्रहरी हिरासतमा राखिएको अवस्थामा मृत्युृ भएका भनिएका व्यक्तिको बारेमा सत्यतत्थ्य छानबिन गरी सार्बजनिक गर्नसमेत स्थानीय प्रहरी प्रशासनसँग विज्ञप्तिमार्फत माग गरिएको छ।
 

कमेन्ट लोड गर्नुस