सुदूरपश्चिम प्रदेशमा नमूना संकलन नहुँदा परीक्षण घट्दै
धनगढीः सुदूरपश्चिममा दैनिक झण्डै तीन हजार जनाको कोरोना परीक्षण गर्न सक्ने क्षमता भएका तीन वटा प्रयोगशाला सञ्चालनमा आएको भएपनि पछिल्लो समय परीक्षण दर घट्दै गएको छ।
कुनै समय दैनिक ११ सय जनाको नमूना परीक्षण गर्दै आएको सेती प्रादेशिक अस्पताल प्रयोगशाला मार्फत अहिले आधा भन्दा कम परीक्षण भईरहेको छ। दैनिक परीक्षण घट्नुको कारण संकलित नमूना कम हुनु नै भएको दावी गरिएको छ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालाका इन्चार्ज रमेश शाहीले नमूना नभएकै कारण परीक्षण कम भएको बताए। सेती प्रयोगशालामा पछिल्लो केही समय यता दैनिक दुई सयदेखि चार सयको हाराहारीमा नमूना परीक्षण हुँदै आएको छ।
अहिले प्रयोगशालामा परीक्षणको पर्खाईमा रहेका नमूनाको संख्या समेत घट्दै गएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा अहिलेकै अनुपातमा परीक्षण गर्ने हो भने एक दिनका लागि मात्र नमूना बाँकी छ।
डोटी प्रयोगशालामा त आईतबार संकलीत नमूना सकिएपछि परीक्षण नै रोकिएको थियो। सोमबार एक सय जनाको नमूना परीक्षण गरेको प्रयोगशालामा परीक्षण गर्न बाँकी नमूनाको संख्या न्युन छ। डोटी अस्पताल प्रयोगशालाका इन्चार्ज सौरभ श्रेष्ठले ल्याबमा आउने सबै नमूना परीक्षण गरिदै आएको बताए।
तर नमूना संकलन कम भएकै कारण परीक्षण समेत घटेको उनको भनाई छ। डडेल्धुरा प्रयोगशालामा पनि परीक्षण गर्न बाँकी नमूनाको संख्या दुई सय मात्र रहेको छ। प्रयोगशालामा पठाईने नमूना परीक्षण गरिदै आएपनि विगतमा जस्तो चाप नभएको प्रयोगशालाले जनाएको छ भने स्वास्थ्य कार्यालयले स्थानीय स्तरमा जोखिममा रहेको व्यक्तिहरुको एक चरणमा परीक्षण सकिएको दावी गरेको छ।
स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ति हरी प्रसाद भट्टले अहिले भारतबाट फर्किनेहरुको संख्या समेत घट्दै गएकाले नमूना संकलनको काम समेत कम भएको बताए। उनले स्थानीय स्तरमा समेत जोखिममा रहेका व्यक्तिहरुको परीक्षण सकिएकाले नमूना संकलन नै घटेको बताए।
तर शंकास्पद व्यक्ति र संक्रमितको संम्पर्कमा आएकाहरुको नमूना संकलन गरी परीक्षणको काम भईरहेको भट्टले जानकारी दिए। यता प्रदेशको सामाजिक विकास मन्त्रालयले समेत स्वास्थ्य सामाग्रीको अभाव र कन्ट्रयाक्ट ट्रेसिङ नभएको कारणबाट नभई भारत तथा प्रभावित क्षेत्रबाट फर्किनेको संख्या घटेकाले परीक्षण पनि कम भएको जनाएको छ।
मन्त्रालयका स्वास्थ्य महाशखा प्रमुख नरेन्द्र कार्कीले सरकारले बनाएको मापदण्ड अनुसार नमूना संकलन गरिदै आएको बताए। उनले नमूना संकलनका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रीको भने अभाव नरहेको बताउँदै भारतबाट आउने क्रम घट्नु प्रमुख कारण भएको जनाए।
यद्यपी मापदण्ड भित्र पर्ने अन्यको नमूना भने संकलन भईरहेको छ। तर स्थानीय तहहरुले प्रभावकारी रुपमा कन्ट्रयाक्ट ट्रेसिङ र जोखिमपूर्ण क्षेत्रबाट नमूना संकलन नगर्दा प्रयोगशालाहरुमा स्वाबको संख्या घटेको छ।
भारतबाट फर्किनेको संख्यामा घटेको भएपनि प्रदेशका कतिपय स्थानमा स्थानीय संक्रमित समेत भेटिएकाले ट्रेसिङको काम प्रभावकारी नभएको दावी गरिएको छ।