धनगढीमा आज थपिएका १३ संक्रमितकै छैन् ‘ट्राभल हिस्ट्री’, को हुन उनीहरु ?
धनगढी : धनगढीमा सोमवार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा उप–महानगरपालिकाका १३ जनामा संक्रमण पुष्टि भएको हो। आज पुष्टि भएका कसैको पनि बाह्य ट्राभल हिस्ट्री भेटिएको छैन्।
प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले सबैभन्दा बढि धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का चार महिला र पाँच पुरुष गरी नौँ जनामा संक्रमण भएको बताए।
उनीहरुमध्ये ८ जना यसअघि कोरोना संक्रमण पुष्टि भएका सेती अस्पतालका एम्बुलेन्स चालकको सम्पर्कमा आएका थिए। एम्बुलेन्स चालकका परिवारका सदस्यसहित उनको सम्पर्कमा आएका ८ जनामा संक्रमण पुष्टि भएको हो। वडा नम्वर ५ कै अर्का संक्रमित भने कानुन व्यवसायी हुन्।
आज वडा नम्वर ३ का नौँ महिनाकी शिशु र २५ बर्षीय युवकमा संक्रमण पुष्टि भएकोमा युवक व्यापारी हुन्। यसअघि धनगढीको बैंकमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएकोमा आज उनकी नौँ महिनाकी छोरीमा पनि संक्रमण देखिएको हो।
यस्तै आज नै वडा नम्वर १ का दुई पुरुषमा पनि संक्रमण पुष्टि भएको थियो। दुबै पुरुष भने जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हुन्। योसंगै धनगढी उप–महानगरपालिकामा कोरोना संक्रमितको संख्या दुई सय ४३ पुगेको छ। ति मध्ये ७६ जनाको ट्राभल हिस्ट्री नदेखिएको धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।