भारतमा चोरी गरिएका दुई करोड बढीका गरगहना कैलालीबाट बरामद, तीन पक्राउ
धनगढीः सुदूरपश्चिम प्रहरीले भारतको दिल्लीमा चोरी भएका दुई करोड रुपैयाँभन्दा बढी मूल्यका गरगहना र नगद बरामद गरेको छ। लामो अनुसन्धानपछि प्रहरीले चोरीमा संलग्न तीन जनालाई पक्राउ गर्दै ठूलो परिमाणमा धनमाल फेला पारेको हो।
प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले दिल्लीको राजेन्द्रनगरस्थित भारतीय नागरिक संजयकुमार माखीजाको घरमा भएको चोरी प्रकरण अनुसन्धान गरेको थियो। माखीजाको घरमा फागुन १३ गते चोरी भएको थियो।
प्रहरीका अनुसार माखीजाको घरमा काम गर्ने बाजुराको बुढीगंगा नगरपालिका–१० का उपेन्द्र रावतको समूहले चोरी गरेको खुलेपछि भारतीय प्रहरीमार्फत नेपाल प्रहरीमा उजुरी परेको थियो। सोही सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदै रावतसहित तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बाजुराको खप्तडछेडेदह गाउँपालिका–३ का लोकेश धामी र चोरीको सामान खरिद गर्ने अछामको साँफेबगर नगरपालिका–४ का अर्जुन सुनार रहेका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाका अनुसार पक्राउ परेकाहरूको साथबाट दुई करोड सात लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरिएको छ। बरामद सामग्रीमा एक करोड ३४ लाख रुपैयाँ बराबरका १२ वटा महँगा घडी, ४३ लाख ३३ हजार १४५ रुपैयाँ बराबरका सुनका गरगहना, १५ लाख ५६ हजार रुपैयाँ बराबरका हिरा तथा सुनका रिङ, दुई लाख १५ हजार ५३० रुपैयाँ बराबरका चाँदीका गरगहना र करिब तीन लाख रुपैयाँ बराबरको सुन रहेको छ।
यस्तै, उनीहरूको साथबाट १२ लाख ९० हजार नेपाली रुपैयाँ नगदसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। विभिन्न देशका मुद्रा र नगद सम्बन्धित धनीलाई फिर्ता बुझाइएको छ।
भारतीय दूतावासमार्फत नेपाली प्रतिनिधिसहित पीडित पक्ष शुक्रबार कैलाली पुगेपछि जिल्ला प्रहरी कार्यालयमार्फत बरामद गरिएका सामान हस्तान्तरण गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले जनप्रतिनिधिको रोहबरमा सम्बन्धित धनीलाई सामान बुझाइएको जानकारी दिए।
चोरी भएका सामान फिर्ता पाएपछि भारतीय नागरिक संजयकुमार माखीजाले नेपाल प्रहरीको प्रशंसा गरेका छन्। उनले हराइरहेका बाँकी सामानसमेत फेला पर्ने आशा व्यक्त गर्दै चोरीको धनमाल बरामद गर्न भूमिका खेल्ने नेपाल प्रहरीलाई धन्यवाद दिएका छन्।
प्रहरीका अनुसार माखीजाको घरबाट चोरी भएका सबै सामान भने अझै फेला पर्न सकेका छैनन्। पक्राउ परेकाहरूले केही सामान अन्य व्यक्तिले लगेको दाबी गरे पनि उनीहरूले नाम लिएका व्यक्ति हालसम्म पक्राउ परेका छैनन्। उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
पछिल्लो समय भारतमा घरेलु कामदारका रूपमा जाने केही व्यक्तिले घरधनीको विश्वास जितेर गरगहना तथा नगद चोरी गरी नेपाल ल्याउने घटना बढ्दै गएको प्रहरीले जनाएको छ। तर स्पष्ट कानुनी व्यवस्था अभावमा सार्वजनिक मुद्दा चलाउने बाहेक थप कारबाही गर्न कठिन हुने अवस्था रहेको प्रहरीको भनाइ छ।