समावेशी विपद् व्यवस्थापनमा जोड दिँदै गोदावरीमा अन्तरक्रिया सम्पन्न
अत्तरिया: कैलालीको अत्तरियामा गोदावरी नगरपालिका स्तरीय “समावेशी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा स्थानीय विपद् व्यवस्थापन समितिको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गोदावरी नगरपालिकाको आयोजनामा युरोपियन युनियनको आर्थिक सहयोगमा, युएनडिपी, युनिसेफ, यूएन वुमन र एचआइको संयुक्त साझेदारी तथा ग्रामीणमुखी युवा अभियान नेपाल (रोयम–नेपाल), डिपि नेटको प्राविधिक सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा स्थानीय तहले ल्याएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, गोदावरी नगरपालिकाका जोखिमयुक्त क्षेत्रमा आवश्यक पूर्वतयारी, विपद्पश्चात गरिनुपर्ने कार्य तथा स्थानीय विपद् व्यवस्थापनका विषयमा विस्तृत छलफल गरिएको थियो ।
गोदावरी नगरपालिकाकी उपप्रमुख शारदादेवी रोकाया, वडाध्यक्षहरू, नगरस्तरीय विपद् व्यवस्थापन समितिका सदस्य, विपद् व्यवस्थापन शाखाकी सुलोचना खड्का, नगर प्रहरी, स्थानीय प्रहरी प्रशासन, नेपाल रेडक्रस सोसाइटी अत्तरिया उपशाखाका सभापति भरत खड्कालगायत विपद्का क्षेत्रमा कार्यरत संघसंस्था तथा सरोकारवालाको सहभागिता रहेको कार्यक्रममा विपद् पूर्वतयारी, प्रतिकार्य, पुनर्लाभ तथा उत्थानशीलता निर्माणका सम्पूर्ण प्रक्रियामा समावेशी र समतामूलक दृष्टिकोण आवश्यक रहेको निष्कर्ष निकालिएको थियो ।
छलफलमा विशेषगरी महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका तथा विपद्का दृष्टिले जोखिममा रहेका समुदायलाई केन्द्रमा राखेर विपद् व्यवस्थापन प्रणालीलाई अझ संस्थागत र सुदृढ बनाउनुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रममा सहजकर्ता नवीन दाहालले विपद् व्यवस्थापनमा सरोकारवालाको बुझाइका विषयमा सहजीकरण गरेका थिए भने हरि कार्कीले मानवीय कार्य समन्वयमा स्थानीय विपद् व्यवस्थापन समिति र सरोकारवालाको भूमिकाबारे अवधारणा प्रस्तुत गरेका थिए ।