सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा निषेधाज्ञा लगाएर सरोकारवाला फुर्सदमा दिन बिताउँदै,परीक्षण र ट्रेसिङ बढेन

२०७७ भदौ १५, ०७:२२ जनक विष्ट

धनगढीः कैलालीमा समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण फैलिने जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले गत भदौँ ४ गते १० दिनका लागि निषेधाज्ञा लागु गरेको थियो। आईतबार १० दिने निषेधाज्ञा सकिएपनि शनिबार प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले पाँच दिन थप्दै १९ गते सम्म निरन्तरता दिने आदेश गरेका छन्।

तर निषेधाज्ञाको १० दिने अवधीमा कोरोना भाईरसको जोखिम नियन्त्रण तथा रोकथामका लागि सरकारी निकायले के गरे? स्पष्ट जवाफ कसैसँग छैन्। यो अवधीमा स्थानीय तहहरुले भारत तथा तेस्रो मुलुकबाट आउनेहरुलाई क्वारेन्टिना व्यवस्थापन गर्ने, संक्रमितहरुको पहिचान गरी छुट्टै राख्ने, परीक्षणको दायरा बृद्धि गरी संक्रमणको अवस्था यकिन गर्ने लगायतका काम हुने विश्वास गरिएको थियो।

तर स्थानीय तह, प्रदेश सरकार र संघिय सरकारका निकायले निषेधाज्ञाको १० दिनलाई फुर्सदमै बिताएका छन्। अहिले पनि स्थानीय पालिकाहरुले क्वारेन्टिनको व्यवस्थापन गर्न नसक्दा भारतबाट फर्किनेहरु सोझै घर जान थालेका छन्। जिल्लामा सबैभन्दा धेरै संक्रमित रहेको गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले क्वारेन्टिन व्यवस्थापन गर्ने विषयमा छलफल हुन नसकेको बताए।

यसअघि विद्यालय सञ्चालन गर्ने भन्दै स्थापना गरिएका क्वारेन्टिन समेत बन्द गरिएको बताउँदै उनले भारतबाट फर्किनेको संख्या पनि घटेकाले होम क्वारेन्टिनमा बसालिदै आएको जनाए। स्थानीय तहमा क्वारेन्टिनको व्यवस्थापन नगरिदा भारतबाट फर्किनेहरु सोझै घर गएर समुदायमा मिसिन थालेपछि सामुदायिक संक्रमणको जोखिम बढेपनि वेवास्ता गरिएको हो।

निषधाज्ञाको अवधीमा स्थानीय तहहरुले सरकारी कर्मचारी, गैरसरकारी संघसंस्थामा आवद्ध कर्मचारी, जनप्रतिनिधि, सांसद, मन्त्री लगायतका पहुँच भएकाहरुको नमूना संकलन गरी परीक्षण गरेका छन्। तर भारत तथा तेस्रो मुलुकबाट फर्किएका सबै जनाको अझै परीक्षण नभएको गुनासो बढ्दो छ। सामुदायिक संक्रमण फैलिसकिएको भनिएको धनगढी उपमहानगरपालिकामा समुदाय स्तरमा परीक्षण गर्न तयारी गरिएको छ।

तर प्राविधिक जनशक्तिको अभावले समस्या हुने देखिएको छ। उपमहानगरपालिकाले भारतबाट फर्किनेहरुलाई भने क्वारेन्टिनमा राख्न आवश्यक तयारी गरिएको जनाएको छ। धनगढी उपमहागनरपालिकाका प्रवक्ता सन्तोश मुडभरीले निषेधाज्ञाको समयमा बन्द गरिएका क्वारेन्टिन पुनः सञ्चालनमा ल्याईएको बताए। उनले अब भारतबाट फर्किनेहरुलाई क्वारेन्टिनमा राखेर कोरोना परीक्षण गरेपछि मात्र घर पठाईने जानकारी दिए।

संक्रमितहरुको कन्ट्रयाक्ट ट्रेसिङको काम समेत प्रभावकारी रुपमा अगाडी बढ्न सकेको छैन। स्वास्थ्य कार्यालय कैलालीले भने निषेधाषाको समयमा ट्रेसिङ र टेस्टीङको दायरा फराकिलो बनाएको दावी गर्दै आएको छ। तर संक्रमणको अवस्था एकिन गर्न नसकिएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामी बताउँछन्।

उनले कोरोना सामुदाय स्तरमा फैलिरहेकाले स्थान विशेषको अवस्था यकिन गर्न नसकिएको भएपनि परीक्षण र कन्ट्रयाक्ट ट्रेसिङको काम जारी राखिएको बताए। यता, जिल्ला प्रशासन कार्यालयले भने १० दिनको निषेधाज्ञा प्रभावकारी भएको दावी गर्दै आएको छ।

सोही कारण १४ दिने अवधी पूरा गर्न पाँच दिन निषेधाज्ञालाई बढाईएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार १४ दिनको अवधीमा आवतजावत नभए संक्रमण नियन्त्रण गर्न सकिने भएकाले सोही अनुसार निषेधाज्ञा बृद्धि गरिएको उनले बताए।

तर यसैबीचमा कैलाली प्रशासनले प्रभावकारी व्यवस्थापन गर्न नसकेको भन्दै कञ्चनपुर प्रशासनले सीमानाकामा आफ्ना सुरक्षाकर्मी परिचालन गरेको छ भने भारतबाट फर्किनेहरुलाई सीमानाकाबाटै स्थानीय तहको जिम्मा लगाउनुपर्नेमा समान्य समयको जस्तै छोडिएको छ।
  
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस