धनगढीको एउटै विद्यालयका ४ शिक्षिकामा देखियो कोरोना
धनगढी : धनगढीको एउटै विद्यालयका चार जना शिक्षिकामा कोरोना भाईरसको संक्रमण देखिएको छ। शनिवार र सोमवार भएको परीक्षणमा चार जनामा संक्रमण पुष्टि भएको हो।
शनिवार धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३५ बर्षीया शिक्षिकामा संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएकाहरुको परीक्षण गर्दा थप तीन शिक्षिकामा संक्रमण पुष्टि भएको हो।
उनीहरु धनगढी उप–महानगरपालिका वडा नम्वर १, ३ र ४ का हुन्। वडा नम्वर ३ की शिक्षिकाका श्रीमान व्यवसायी हुन् भने उनीसहित ५ जना परिवारका सदस्यमा संक्रमण देखिएको हो।
उनको पसलमा कार्यरत एकजनामा यसअघि नै संक्रमण पुष्टि भएको थियो। यस्तै वडा नम्वर ४ की संक्रमित शिक्षिकाका परिवारका अन्य तीन जनामा पनि संक्रमण देखिएको छ।
विद्यालयकी प्रिन्सिपलले दिएको जानकारी अनुसार संक्रमित चार जना प्रि–स्कुलमा अध्यापन गराउँदै आएका थिए।
साउन ३० गते अभिभावकहरुलाई गृहकार्यको कपी दिन उनीहरु विद्यालयमा उपस्थित भएको प्रिन्सिपलले जानकारी दिईन्। पछिल्लो १२ दिनयता भने विद्यालयमा कोही उपस्थित नभएको उनको दावी छ।