सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरमा निर्माण सम्पन्न भएको आधुनिक बसपार्क नगरपालिकालाई हस्तान्तरण

२०७७ भदौ ४, ०७:०१ खबर संवाददाता

टीकापुर : कैलालीको टीकापुरमा निर्माण सम्पन्न भएको आधुनिक बसपार्क टीकापुर नगरपालिकालाई हस्तान्तरण गरिइएको छ।

शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले टीकापुर नगरपालिकालाई कागजात र बसपार्कको सांँचो हस्तान्तरण गरेको हो।

कार्यक्रममा टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले टीकापुरमा आधुनिक बसपार्क निर्माण हुनु यहाँको विकासमा इट्टा थपिएको बताए।

शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोना कार्यान्वयन ईकाई धनगढीका प्रमुख परीक्षित कडरीयाले बसपार्क निर्माणको क्रममा सहयोग गर्ने सबैलाई धन्यबाद दिए।

संघीय सरकारको सघन शहरी विकास कार्यक्रम अन्र्तगत बसपार्क निर्माण गरिएको हो। बसपार्क निर्माणकोे लागि राजेन्द्र रोयल जेभी धनगढीले भ्याट बाहेक ८ करोड ३३ लाखमा ठेक्का पाएको थियो।

बसपार्क आधुनिक प्रविधिको भएकाले बसपार्कभित्र लामो र छोटो दुरीका अलग–अलग सवारी साधन पार्किङ क्षेत्र, मोटरसाइकल पार्किङ क्षेत्र, फाइरिङ ट्याङ्की, टिकट काउण्टर, होटल र शौचालय निर्माण गरिएको छ।

बसपार्क निर्माणको लागि २०७५ माघ २ गते सम्झौता भएकोमा २०७७ साउन ४ भित्र काम सक्नुपर्ने थियो। निर्माण कम्पनीले दुई महिना अगावै निर्माण सम्पन्न गरेको थियो।

कोरोना महामारीका कारण बसपार्क समयमै हस्तान्तरण गर्न नसकिएको निर्माण कम्पनीका सञ्चालक प्रकाश सेटीले बताए। 
 

कमेन्ट लोड गर्नुस