सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी भाटभटेनी विवादमा नयाँ मोड: क्यामेरा म्यानहरू पनि पुगे प्रहरी समक्ष

२०८३ जेठ १४, ०८:१६ अनुभव भट्ट

धनगढी: धनगढी उप-महानगरपालिका वडा नं. ३ मा अवस्थित भाटभटेनी सुपरमार्केट आसपासको क्षेत्रमा बढ्दै गएको विवादले अब कानुनी र सुरक्षाको नयाँ मोड लिएको छ। सार्वजनिक शान्ति खलल पुर्‍याएको भन्दै स्थानीय व्यवसायी र नागरिकहरूले क्यामेरा म्यानहरू विरुद्ध उजुरी दर्ता गराएको भोलिपल्टै, त्यहाँ कार्यरत फोटोग्राफरहरूले पनि आफूहरूको जीउज्यानको सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा लिखित निवेदन दिएका छन्।

भाटभटेनी अगाडि व्यवसायिक रूपमा फोटोग्राफी गर्दै आएका युवाहरूले स्थानीय केही युवाहरूले आफूहरूलाई गरिखान नदिएको, गालीगलौच गरेको र ज्यान मार्ने धम्की दिएको आरोप लगाउँदै प्रहरी गुहारेका हुन्।

उजुरीमा नयाँ माेड: हिजो निवेदन दिने व्यवसायीहरूको नाम परेन

हिजो क्यामेरा म्यानहरूको अराजक गतिविधि विरुद्ध वडा कार्यालय र प्रहरीमा संयुक्त लिखित उजुरी बुझाउने स्थानीय व्यवसायी तथा नागरिकहरूको नाम भने क्यामेरा म्यानहरूले दिएको उजुरी पत्रमा समावेश गरिएको छैन।

क्यामेरा म्यानहरूले आफूहरूलाई धम्क्याएको र कुटपिट गर्न खोजेको भन्दै वडा नं. ३, ४, र १३ का अन्य निश्चित युवाहरू विरुद्ध किटानी उजुरी दिएका छन्। सुरक्षा र संवेदनशीलताका कारण उजुरीमा परेका अन्य नामहरू र निवेदकहरूको विस्तृत विवरण भने हाललाई गोप्य राखिएको छ। यसले के संकेत गर्छ भने, यो विवाद आम व्यवसायी र क्यामेरा म्यानहरूबीचको मात्र नभएर स्थानीय केही निश्चित समूह र फोटोग्राफरहरू बीचको आपसी रिसिइबी वा टकराव हुनसक्ने देखिन्छ।

'गरिखान पाउनुपर्छ' भन्दै फोटोग्राफरहरू प्रहरी समक्ष

लामो समयदेखि सोही क्षेत्रमा फोटोग्राफी गरेर आफ्नो जीविकोपार्जन गरिरहेका क्यामेरा म्यानहरूले संयुक्त रूपमा जिल्ला प्रहरी कार्यालयमा दर्ता गराएको निवेदनमा आफूहरू स्थापनाकालदेखि नै सुखद रूपमा स्वआर्जन गरिरहेको उल्लेख गरेका छन्।

उनीहरूले आफ्नो उजुरीमा भनेका छन्, "निश्चित युवाहरूको समूहले 'तिमीहरूले यहाँ व्यवसाय गर्न पाउँदैनौ' भन्दै निरन्तर धम्काउने, गालीगलौच गर्ने र भनेको नमानेमा कुटपिट गरेर मार्नेसम्मको धम्की दिँदै आएका छन्।" त्रासमुक्त वातावरणमा शान्तिपूर्ण तरिकाले व्यवसाय गर्ने वातावरण मिलाइदिन उनीहरूले प्रहरी प्रमुख समक्ष माग गरेका छन्।

स्थानीय व्यवसायीहरू क्यामेरा म्यानहरूले सडक ओगटेर भीडभाड गर्ने र ग्याङ फाइट गर्नेसम्मका गतिविधि गरेको आरोप लगाउँछन्। अर्कातर्फ, क्यामेरा म्यानहरू आफूहरूले दुःखजिलो गरेर पेसा चलाइरहेको अवस्थामा केही युवाहरूले विनाकारण धम्क्याएको दाबी गर्छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीले दुवै पक्षबाट उजुरी पत्र आएको र सक्दाे छिटो दुवै पक्षलाई सँगै राखेर छलफल जानकारी दिएकाे छ। डिजिटल स्वतन्त्रताका नाममा सर्वसाधारणलाई सास्ती दिने र श्रम गरेर गरिखाने युवाहरूलाई धम्काउने दुवै काम गलत भएकाले, कसैलाई मर्का नपर्ने गरी यो समस्याको दीर्घकालीन समाधान निकाल्नु नै अहिलेको मुख्य आवश्यकता हो।

अनुभव भट्ट, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

 

कमेन्ट लोड गर्नुस