सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उप–महानगरपालिकाले भन्यो, ‘क्वारेन्टिन सञ्चालन गर्न सक्दैनौ’

२०७७ भदौ २, १०:०७ खबर संवाददाता

धनगढी : धनगढी उप–महानगरपालिकाले क्वारेन्टिन सञ्चालन गर्न नसक्ने भन्दै बन्द गरेको छ। ५१ वटा विद्यालयमा क्वारेन्टिन सञ्चालन गर्दै आएको उप–महानगरपालिकाले विद्यालय सञ्चालनको तयारी भईरहेको जनाउँदै क्वारेन्टिन बन्द गरेको हो।

उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले अहिले सबै क्वारेन्टिन बन्द भएको जानकारी दिए। उनले विद्यालयमा क्वारेन्टिन सञ्चालन गर्न सक्ने अवस्था नरहेको भन्दै बैकल्पिक स्थानको खोजी भईरहेको दावी गरे। 

यता धनगढी उप–महानगरपालिकाले क्वारेन्टिन सञ्चालन गर्न नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीलाई पत्र पठाएको छ।

विद्यालयहरु सञ्चालन हुने भएकाले क्वारेन्टिन सञ्चालन गर्न नसकिने भन्दै उप–महानगरपालिकाले साउन ३२ गते प्रशासनलाई पत्र पठाएको हो।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले उक्त पत्र आएको बताउँदै धनगढी उप–महानगरपालिका वडा नम्वर २ को नवदुर्गा माविले समेत होल्डिङ सेन्टर हटाउन आग्रह गर्दै पत्र पठाएको बताए।

‘होल्डिङ सेन्टर पनि हटाउनका लागि आग्रह गरिएको छ,’ सूचना अधिकारी जोशीले भने, ‘जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले सरकारको निर्णय कार्यान्वयन गर्नका लागि एउटा अनुगमन समिति बनाएको छ। उक्त समितिले ५ दिनभित्र होल्डिङ सेन्टरका लागि नयाँ स्थान खोज्ने समेत निर्णय भएको छ।’

उनले विद्यालयमा क्वारेन्टिन सञ्चालन गर्न नसक्ने भन्दै अन्य स्थानीय तहबाट समेत जानकारी आईरहेको बताए। 
 

कमेन्ट लोड गर्नुस