सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भिडभाड गरेर गौरा तथा तिज मनाउन नपाइने

२०७७ भदौ १, ०७:४० खबर संवाददाता

धनगढी: कैलालीमा सामुहिक रुपमा गौरा तथा तिज मनाउन नपाइने भएको छ। सोमबार प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेकाे जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले सामुहिक रुपमा गौरा तथा तिज नमनाउन आग्रह गरेको हो। 

बैठकले सामुहिक रुपमा गौरा तथा तिज मनाउदा कोरोना संक्रमण फैलिने सम्भावना भएकाले जनस्वास्थ्यका मापदण्ड पुरा गरी घरभित्रै चाड पर्व तथा मनाउन कैलालीका बासिन्दालाई आग्रह गरेको हो। 

यस्तै मन्त्रीपरिषद्को बैठकले गरेको होटल तथा रेष्टुरेण्टबाट तयार गरिएका खाद्य परिकार लैजाने(टेकअवे) सेवा मात्र सञ्चालन गर्ने निर्णय कार्यान्वयन भएको नभएको समेत अनुगमन गरिने निर्णय सोमबार भएको छ। निर्णय उल्लंघन गरिएको पाइएमा संक्रमण रोग ऐन २०२० अनुसार कडा कारबाही गर्ने कैलाली प्रशासनले जनाएको छ। 

त्यस्तै भारतबाट आउने नेपालीहरुलाई १० दिनसम्म कैलालीमा होल्डिङ सेन्टरमा राख्ने स्थान छनौटका लागि जिल्ला स्तरीय अनुगमन समितिलाई ५ दिनको समय अवधी दिएको छ।

साथै पासको सम्बन्धमा बैठकले सरुवा भएर आएका कर्मचारी निजको परिवारलाई, आफै किरियामा बस्ने वा किरिया बसेर काममा फर्किदै गरेको व्यक्तिलाई, रेफर भएका विरामीलाई पास दिने निर्णय गरेको छ। 

कमेन्ट लोड गर्नुस