सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा सदरमुकाम छेउकै गाउँमा छैन बिजुली

२०७७ साउन ३२, ०३:४७ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका –३ चिरकिट्टे गाउँका स्थानीयले गाउँ झिलिमिलि पार्ने र दैनिकी सहज बनाउने सपना साँचेर आफै बोकी गाउँमा पोल पुर्याएको ३/४ वर्ष भयो। घर अगाडी ती बिजुलीका केही पोलहरु गाडिएका छन्। केही भुँइमा छरिएका छन् भने कतिपय पोलहरु माटोमा पुरिँदै गएका छन्। तर, गाउँमा पोल पुगेपनि विजुली भने अझै पुगेको छैन्। वर्षौदेखि गाउँमा बिजुली नपुग्दा स्थानीय अन्धाकारमा नै रुमलिन बाध्य छन्। 

हर्कबहादुर पाण्डेय उमेरले ६५ वर्ष पुगे। उनले जन्मेदेखि गाउँमा विजुली देख्न पाएका छैनन्। ४ वर्ष अघि गाउँमा पोल पुग्दा उनलाई घरमा विजुली बलेको हेर्ने चाँसो बढ्यो। कहिले काँही जिल्ला सदरमुकाम आउँदा बिजुली बलेको देखेका उनलाई आफ्नै ठाउँमा झिलिमिली भएको हेर्ने ठूलो रहर छ। 

‘घरमा विजुली बलेको हेर्ने ठूलो रहर छ। तर, मेरो सपना कहिले पुरा होला’ उनी भन्छन्, ‘यो जुनीमा मेरो रहर पुरा होला जस्तो छैन्। आस पनि मरिसकेको छ। अब घरमा बिजुली बलेको हेर्न मैले अर्को जुनी जन्म लिनुपर्छ।’

गाउँमा दिनभरि खेतबारीमा चहलपहल भए पनि सूर्यास्तसँगै त्यस क्षेत्र सुनसान बन्ने गरेको छ। साँझ पर्नासाथ वरपरका गाउँहरु झिलिमिली हुन्छन्। तर, यी बस्तीहरुका जनता भने टुकीको धिपधिपमा चित्त बुझाउँदै आएका छन्।

घर छेउमा विद्युतको पोल गाडेको वर्षौ भयो। तर, दुर्गम गाउँमा झैं सोलारबाट बत्ति बालेर चित्त बुझाइरहनु परेको स्थानीय एलिना पनेरुले बताइन्। ‘के गर्नु स्मार्ट अमरगढी भन्छन्। जिल्ला सदरमुकाम नजिकैको गाउँमा बिजुली छैन्।’

‘गाउँमा बिजुली नहुँदा विद्यालयमा पठनपाठन गर्ने बालबालिकाहरुलाई समस्या हुने गरेको छ। २१औँ शताब्दिमा पनि देउवाको गृहजिल्लाका नागरिक ‘झरो’ (सल्लाको दाउरा) बालेर रात बिताउन बाध्य छन्’ उनले भनीन।  ‘सोलार बालेर भएपनि रातमा उज्यालो हुन्थ्यो। अहिले वर्षातको समय भएकोले घाम लाग्दैन्। घाम नलागेपछि सोलार बल्ने कुरा भएन्’ उनले भनीन, ‘स्थानीय  सरकार गाउँमा विकास गर्दै छौँ भन्छन्। खोइ! के पो विकास गरेका रैछन्। हामी वर्षोदेखि अन्धाकारमय जिवन विताउँदै छौँ।’

गाउँमा सिंहदरबार आएको भनिएपनि सदरमुकामकाे बागबजार छेउमै रहेकाे गाउँमा बिजुली आउन नसकेकोमा स्थानीय दुखी छन्। गाउँमा सडक नखन्दै बोकेर ल्याइएका पोलमा बिजुली बलेको देख्ने रहर सबैको छ। कतिपयले वैकल्पिक ऊर्जाका रूपमा सोलार जोडे पनि अझै अधिकांश स्थानीय टुकी बालेर काम चलाइरहेका छन्। 

विद्युत नभएपछि केही गैरसरकारी संस्थाले सोलार वितरण गरेका थिए। तर, त्यो बालुवामा पानी जस्तै भएको स्थानीय बताउँछन्। स्थानीय तहको निर्वाचनदेखि प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा नेताहरूबाट सडक र बिजुलीको आश्वासन यहाँका स्थानीयले नपाएका होइनन्। तर, चुनाव जितिसकेपछि त्यतातिर कसैको ध्यान गएको देखिँदैन।

स्थानीयहरुले विजुलीको माग गरेपनि नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराले ध्यान नदिएको स्थानीय नरेन्द्र पाण्डेयको आरोप छ। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुरामा पुग्दा मिटर आवेदन फारम ल्याएर आउनु होला भन्ने गरेको र ३/४ जनाले फाराम बुझाएपनि गाउँमा विद्युत नपुगेको उनको भनाइ छ। सो ठाउँका ३०/४० घरपरिवार बिजुली बिहीन छन्।

वडाअध्यक्ष भन्छन्: ‘ठेकेदार स्थानीय र विद्युत कार्यालयको लापरबाहीले बिजुली पुगेन’ 
ठेकेदार र विद्युत कार्यालयको लापरबाही तथा स्थानाीयले चासो नदिँदा विजुली नपुगेको अमरगढी–३ का वडाअध्यक्ष गोविन्द बोहरा बताउँछन्। ०७७ सालको बैशाखमा विजुली पुर्याउने अठोट गरेको भएपनि कोरोना भाइरसको कारणले समस्या भएको उनको भनाइ छ।

‘सतकटा निर तारले ओखरको रुखमा छुने जस्तो भएपछि एक जना स्थानीयले ओखर टिप्न गार्हो हुन्छ। लाइन सार्नु पर्यो भन्ने गुनासो गर्नुभएको थियो। पछि सम्झाइ बुझाइ गर्दा समस्या समाधान भयो।’ उनले भने।

वडा कार्यालयको पहलमा नै पोल र तार लाईन जडान भएको उनले बताए। वडाअध्यक्ष बोहराका अनुसार स्थानीयले घरमा वाइरिङ नगरेको र मिटर नलगेको कारण विजुली बाल्न समस्या भएको हो। गाउँमा विजुली चाँहियो भन्नेहरुलाई वडाबाट निःशुल्क मिटर दिन्छु भन्दा समेत नआएको उनको आरोप छ।

उपभोक्ताले विजुली बाल्न मिटर माग गरे विजुली पुग्छ : प्रमुख श्रेष्ठ
आफू आउनु भन्दा पहिले नै काम भइसकेको र आफू आइसकेपछि नपुगेको ११ हजार लाइन ट्रान्र्सफर गरेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराको प्रमुख ईस्वरकुमार श्रेष्ठले बताए। सल्लाको रुख भएको वन भएकोले हावाहुरीले तार चुँडिएपछि मिटर फारम आवेदन माग गर्दा /२ जनाले मात्रै आवेदन दिएको उनको भनाइ छ।

‘बेलाबेलामा हामीहरुको लाईन चार्ज भएन भनेर उनीहरु कुरा उठाउँछन्। तर, मिटर आवेदन फारम भने दिदैनन्। त्यत्तिकै हामीहरुले लाईन छोड्न मिल्दैन’ उनले भने, ‘हामीहरु विग्रीएको ठाउँमा जुन सुकै बेला पनि मर्मत गर्न तयार छौँ। स्थानीयहरुले बिजुली बाल्न मिटर माग गर्नुपर्यो।’
 

कमेन्ट लोड गर्नुस