सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा बाढीपहिरोमा तीन घर बगे

२०७७ साउन १७, ०७:२० नरेन्द्र कार्की

दार्चुलामा बाढीपहिरोले तीन घर पुरिएका र दर्जन बढी घर जोखिममा परेका छन्। महाकाली नगरपालिका–२ को मैखोलीमा बाढीपहिरोले तीन घर पुरिएका र  दर्जनौँ घर जोखिममा परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाढीपहिरोले मानवीय क्षति भएको छैन।

आज बिहान आएको पहिरोले गगन पार्कीको दुईतले घर बगाएको र पशु चौपायालाई सुरक्षित स्थानमा सारिएकोे छ। यस्तै सोही ठाउँमा रहेका कालु भुल, मने भुल, र परे भूलको संयुक्तरुपमा निर्माण भएको  तीनतले घर पनि बाढीपहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भाष्कर चन्दले बताए। 

यसैगरी बाढीपहिरोले सोही ठाउँका ललितराम पार्कीको दुईतले घर बगाएको छ। लास्कुखोला र आसपासबाट आएका खोलाले बाढीपहिरो निम्त्याएको हो। यस्तै प्रहरीले सोही ठाउँका कालुसिंह भुलको चौपायालाई जीवितै उद्धार गरेको छ। बाढीपहिरोले मानमती पार्की, हरकसिंह साहु, पारस साहुको घर पूर्णरूपमा जोखिममा परेको छ भने मानिस र पशुचौपायाको उद्धार गरिएको प्रहरीले जनाएको छ। 

यस्तै बाढीपहिरोले मनिराम भुल, परे भुल, अमिरा पार्की, ललितराम पार्की, रुकुम पार्की र गगन पार्कीको घर पनि जोखिममा परेका प्रहरीले जनाएको छ। बाढीपहिरोका कारण खार–खलङ्गा सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ। अहिले स्थानीयवासीलाई सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। सडक अवरुद्ध भएका कारण उद्धारमा समेत ढिलाइ भएको प्रहरीले जनाएको छ।
 

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस