धनगढी उप–महानगरपालिकाको कुहिएको चामल प्रकरणमा अख्तियारले विस्तृत अनुसन्धान थाल्यो
धनगढीः धनगढी उप–महानगरपालिकाले राहतमा कुहिएको चामल वितरण गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान थालेको छ।
प्रारम्भिक अनुसन्धनका क्रममा चामल खरिदको ठेक्का प्रक्रिया तथा गुणस्तरमा कैफियत देखिएपछि केन्द्रीय कार्यालयले अनुसन्धान अधिकृत खटाउँदै विस्तृत अनुसन्धान गर्न अख्तियारको महेन्द्रनगर स्थित कार्यालयलाई निर्देशन दिएको छ।
अख्तियारको कार्यालय महेन्द्रनगरका निमित्त प्रमुख महेश पाण्डेले विस्तृत अनुसन्धान गर्नुपर्ने आवश्यकता ठहर गर्दै केन्द्रीय कार्यालय फाईल पठाएकोमा अनुसन्धान अधिकृत तोकेर थप अनुसन्धान अगाडी बढाउन निर्देशन प्राप्त भएको बताए। उनले अब उक्त प्रकरणको थप अनुसन्धान गरिने बताए।
धनगढी उप–महानगरपालिकाले गत बैशाखमा कोरोना महामारीपछि जारी लकडाउनले प्रभावित नगरबासीलाई मिलोमतोमा ठेक्का पारी राहतमा कुहिएको चामल वितरण गरेको कुरा सञ्चार माध्यमबाट सार्वजनिक भएको थियो। सञ्चार माध्यममा आएका समाचारलाई उजुरीका रुपमा कायम गरेको अख्तियारले प्रारम्भीक अनुसन्धानमा कैफियत देखिएपछि विस्तृत अनुसन्धान सुरु गरेको थियो।
गत जेठ १ गते उप–महानगरपालिकामा छापा हान्दै खरिद प्रक्रियाका कागजात नियन्त्रणमा लिएको थियो। प्रारम्भीक अनुसन्धानका क्रममा सार्वजनिक खरिद ऐन अनुसार आपूर्तीकर्तासँग ठेक्का सम्झौता नगरिएको, हतार हतारमा सूचना जारी गरी एउटै आपूर्तीकर्तालाई ठेक्का पारेको, खाद्य वस्तुको गुणस्तर समेत परीक्षण नभएको अख्तियारले ठहर गरेको थियो।
विस्तृत अनुसन्धान गर्नुपर्ने ठहर गर्दै फाईल केन्द्रीय कार्यालय पठाएको दुई महिनापछि अनुसन्धान अधिकृत तोकेर थप छानविन थालिएको हो। यता धनगढी उप–महानगरपालिकाले गठन गरेको छानविन समितिको सुझाव भने अझै कार्यान्वयन हुन सकेको छैन्।
वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारीको संयोजकत्वमा गठित छानविन समितिले दिएको सुझावका आधारमा कार्यपालिका बैठकले समेत चामल आपुर्तिकर्ता ठाकुर ट्रेड लिङकलाई हदैसम्मको कारवाहीका लागि प्रक्रिया अगाडी बढाउने निर्णय गरेको थियो।
खरिद प्रक्रियामा संलग्न कर्मचारीलाई स्पष्टीकरण सोध्ने समेत निर्णय भएको थियो। तर छानविन समितिको सुझाव उप–महानगरपालिकाले कार्यान्वयन नगरेको हो। उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद सापकोटाले भने कानुन अनुसारका प्रक्रिया अगाडी बढाईएको बताए।
हुन त प्रमुख प्रशासकिय अधिकृत सापकोटा पनि राहतको चामल खरिद प्रक्रियामा संलग्न रहेका थिए। उप–महानगरपालिकाले धनगढीको ठाकुर ट्रेड लिङ्कलाई दुई करोड ६१ लाखमा ठेक्का दिदै राहतको चामल लगायतका सामाग्री आपूर्ती गरेको थियो। छानविनका क्रममा राहतमा खरिद गरिएको झण्डै ९ लाख बढिको चामल कुहिएको भेटिएको थियो।